वीरगन्ज :

सिम्रौनगढमा मलखाद आयात रोक र प्रहरी दमनविरुद्ध व्यवसायीको प्रदर्शन

श्रेणी : कृषि

5 months
Pradeep Sah
1.7kViews
1321 Shares

वीरगन्ज,०३ साउन । प्रहरीको ज्यादती र मलखाद आयातमा रोक लगाइएको भन्दै सिम्रौनगढका व्यवसायीहरुले प्रदर्शन गरेका छन् । प्रहरीले भारतबाट सामान्य घरायसी सामान र कृषि उत्पादनका लागि आवश्यक मलखाद ल्याउन पनि नदिएको गुनासो गर्दै सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु कुशवाहाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।

सिम्रौनगढमा भएको प्रदर्शनको नेतृत्व गरेका कुशवाहाका अनुसार, सिम्रौनगढमा रहेको छोटी भन्सार कार्यालय बन्द गरिएको र त्यहाँका कर्मचारीहरूलाई पनि हटाइएको छ। यसले गर्दा स्थानीय बजार चलाउन कुनै आधार नरहेको उनको भनाइ छ। उनले सरकारले सिम्रौनगढको छोटी भन्सार पुनः स्थापना गर्नुपर्ने पहिलो माग राखेका छन्।

उनले किसानहरूलाई एक–दुई बोरा मलखाद ल्याउन पनि प्रहरी प्रशासनले दुःख दिइरहेको आरोप लगाए। साथै, घर खर्च चलाउनका लागि ५–१० किलो सामान ल्याउँदा पनि प्रहरीले वीरगन्ज भन्सारमा पठाउने गरेकोले आफूहरू निकै पीडित भएको उनको भनाइ छ।

प्रहरी र राजस्वका कर्मचारीहरूले निरन्तर छापा मारेर व्यापारीहरूलाई हैरान पारेको र अर्थतन्त्र कमजोर हुँदै गएको कारण सिम्रौनगढका धेरै पसलहरू बन्द भइसकेको व्यवसायीहरु बताउँछन् । प्रशासनको दमनका कारण आफ्नो परिवार र व्यवसायको सुरक्षाका लागि आन्दोलनमा उत्रनुपरेको उनीहरुको भनाई छ ।

आन्दोलनकारीहरूले त्यस क्षेत्रका सांसद अच्युत मैनालीसँग यसबारे ध्यानाकर्षण गराएको र सांसद मैनालीले यसबारे संसदमा कुरा उठाउने कुश्वाहाले जानकारी गराए । कुश्वाहाका अनुसार सिम्रौनगढका नगर प्रमुखलाई पनि समस्या बारे जानकारी गराए । यद्यपि, स्थानीय नेता र जनप्रतिनिधिहरूको यस विषयमा खासै चासो नभएको र उनीहरू भोटको बेला मात्रै देखिने गरेको भन्दै अध्यक्ष कुशवाहाले असन्तुष्टि व्यक्त गरे। यदि माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी उनीहरुले दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *