
श्रेणी : कृषि
बारा,११ जेठ । बाराको सिम्रौनगढमा एक महिनाअघि आएको हावाहुरी र असिनापानीले नष्ट पारेको बालीको क्षतिपूर्ति नपाएपछि स्थानीय किसानहरू आन्दोलनमा उत्रिएका छन्। आइतबारदेखि सुरु भएको आन्दोलनको पहिलो दिनमै किसानहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्दै धर्ना दिएका छन्।
पिडित किसानहरूले नगरप्रमुखले पटक–पटक ग्यारेन्टीको आश्वासन दिए पनि कुनै ठोस कदम चालिएको छैन भन्दै आक्रोश पोखेका छन्। आन्दोलनको अगुवाइ किसान संघर्ष समिति गर्दै आएको छ। समितिका सदस्य तथा पिडित किसान राम प्रवेश कुशवाहाले भने, “हामीले बारम्बार निवेदन दिएका छौं, तर नगरपालिकाले सुनुवाइ त परै जाओस्, भेटघाटमै पन्छाउने काम गरिरहेको छ।”
९४ बिघा बाली नष्ट, ६ सय किसान संकटमा
बैकल्पिक जीविकोपार्जनको कुनै भरपर्दो माध्यम नभएका किसानहरूका लागि वैशाख १४ गते आएको विपत् विनाशकारी साबित भयो। सिम्रौनगढका वडाहरू १, २, ३, ६ र ७ मा करीब ९४ बिघा क्षेत्रफलमा लगाइएको तरकारी, मकै, र धानका बाली पूर्णरूपमा नष्ट भएको थियो। करिब ६ सय किसानहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
हावाहुरीको भोलिपल्टै बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा अवलोकन टोलीले क्षति निरीक्षण गरेको भए पनि त्यसपछि कुनै स्पष्ट कार्य योजना नगरपालिकाले अघि नबढाएको किसानहरूको आरोप छ। उनीहरूले बाली क्षतिको विवरणसमेत नगरपालिकामा बुझाइसकेका थिए।
‘लागत खर्च मात्रै मागेका हौं’
किसानहरूको माग खासै जटिल छैन। उनीहरू केवल आफ्नो लगानीको भरपाई मागिरहेका छन् — खनजोत, बीउ, मल, सिंचाइमा लागेको खर्च। “प्रति कठ्ठा आठ हजार रुपैयाँका दरले क्षतिपूर्ति माग गरेका हौं,” कुशवाहाले भने, “हामी लाभ होइन, घाटा मात्रै भरपाई गरिदिन आग्रह गर्दैछौं।”
तर, नगरपालिका र मेयर किशोरी प्रसाद कलवारले कुनै चासो नदेखाएको किसानहरूको आरोप छ। आन्दोलनकारीहरूले नगरपालिकाले क्षतिपूर्तिको लिखित प्रतिबद्धता जनाए मात्र आन्दोलन स्थगन गर्ने चेतावनीसमेत दिएका छन्।
प्रहरी हस्तक्षेप र किसानको दृढता
तालाबन्दीका क्रममा प्रहरीले हस्तक्षेप गरे पनि किसानहरू आफ्नो अडानबाट पछि हटेका छैनन्। उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।
कुशवाहाले भने, “मेयर साबले हाम्रो घाउ देख्नुपर्छ, सुन्नुपर्छ। हाम्रो सस्तो मागलाई बेवास्ता गरिँदैछ, त्यसैले हामी सडकमा छौं। अब लिखित प्रतिबद्धता नआएसम्म आन्दोलन टुंगिँदैन।”


प्रतिक्रिया