श्रेणी : मधेस
बारा,०९ पुस । जीतपुरसिमरा ११ मा शनिबार मृत फेला परेका राजकुमार रुम्बाको हत्या सुनियोजित रुपमा गोली प्रहार गरेर गरिएको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्टले उनको शरिरमा गोलीको घाउ फेला परेको देखाएको छ।
बारा प्रहरी प्रमुख महेन्द्र खड्काका अनुसार सानो हतियार प्रयोग गरी रुम्बाको हत्या भएको छ। घटनाको विस्तृत अनुसन्धानका लागि छुट्टै टोली परिचालन गरिएको छ। हत्या किन र कसले गर्यो भन्नेबारे अनुसन्धान तीव्र बनाइएको खड्काले जानकारी दिए।
मृतक रुम्बा नेपाल प्रहरीको कार्यालय सहयोगी (भान्से) पदमा कार्यरत थिए। पछिल्लो समय उनी सिमरा विमानस्थलको सुरक्षागार्डको जिम्मेवारी सम्हाल्दै आएका थिए। शनिबार बिहान राष्ट्रिय अनुसन्धान बारा इन्स्पेक्टर श्रीकान्त तिवारीको गाडीभित्र उनको शव फेला परेको थियो।
अनुसन्धानका क्रममा थाहा भएअनुसार रुम्बा शुक्रबार राति साढे ९ बजे तिवारीको गाडी लिएर कलैयातर्फ गएका थिए। तर, तिवारीले आफ्नो गाडी किन रुम्बाले लिएर गए भन्नेबारे कुनै जानकारी दिएका छैनन्। यसै कारण, तिवारी र रुम्बाको सम्बन्धबारे पनि अनुसन्धान भइरहेको छ।
प्रहरीले तिवारीसँग समेत बयान लिएको छ। अनुसन्धानमा संलग्न अधिकारीले हत्या घटनाको कारण र योजनाबारे निष्कर्षमा पुग्न केही समय लाग्ने बताएका छन्।
रुम्बाको हत्या घटनाले सुरक्षाकर्मीभित्रको आन्तरिक व्यवस्थापनबारे पनि प्रश्न उठाएको छ। यो घटनापछि बारा प्रहरी र अनुसन्धान विभाग थप चनाखो बनेको छ।
प्रतिक्रिया