श्रेणी : समाज
शर्मिला पाठक, काठमाडौं । १६ वर्षदेखि श्रीमाया तामाङ भगवान्लाई चढाउन प्रयोग हुने पूजा सामग्री बनाइरहेकी छन्। यसबाट उनले मासिक ४० हजार रुपैयाँसम्म आम्दानी गरिरहेकी छन्।
श्रीमायालाई मासिक ४० हजार रुपैयाँ कमाउन न नियमित कार्यालय धाउनपर्छ न कसैको नमिठो वचन नै सुन्नुपर्छ। उनी भान्साको काम सकेपछि बचेको समयमा घरमै बसेर भगवान्लाई चढाउने पूजा सामग्री बनाउँदै राम्रो आम्दानी गरिरहेकी छन्। श्रीमायाले दैनिक २५ वटासम्म पूजा सामग्री ‘चोप्पेन’ बनाउँछिन्। जसलाई उनले प्रतिगोटा ५० रुपैयाँमा बेच्ने गरेकी छन्। बौद्धमा बस्ने श्रीमाया उमेरले ५० कटिसकेकी छन्, तर उनमा चोप्पेन बनाउने जाँगर भने पहिलेजत्तिकै छ।
श्रीमाया गृह श्रमिक हुँ भन्दा आफूलाई आनन्द आउने बताउँछिन्। आफ्नो घरमा बसेर राम्रो आम्दानी भएकामा उनी खुसी छिन्। श्रीमाया भन्छिन् –जति बेला कोरोनाका कारण मठमन्दिर र पूजाआजा ठप्प थियो, त्यस बेला भने व्यापार कम थियो। अहिले पुरानै लयमा व्यापार फर्किएको छ।
श्रीमाया आफ्नो कामप्रति खुसी छिन्। ‘शरीरले सक्दासम्म यही काम गर्छु, धर्म र पैसा दुवै कमाइने। सोह्र वर्ष पहिले काम सुरु गर्दा परिवारै यही पेसामा लागेका थियौँ। यसकै आम्दानीले छोराछोरी बढेर विदेश पलायन भए। अहिले म एक्लैले गर्छु तर यस पेसालाई मेरो उच्च सम्मान छ,’ श्रीमायाले खुसी हुँदै सुनाइन्।
त्यस्तै काठमाडौँको मूलपानीमा विगत ३० वर्षदेखि सिलाइकटाइ काम गरिरहेकी मञ्जु गजुरेल पनि गृह श्रमिकका रुपमा काम गर्न पाउँदा दङ्ग छिन्। उनले सुरुमा एक्लै काम थालिन्। अहिले ११ जना गृह श्रमिकको समूहको नेतृत्व गर्दै उक्त काम सम्हालिरहेकी छन्। एक्लैभन्दा समूहमा काम गर्दा सहज भएको उनको अनुभव छ। नाम खुलेर भन्न नसक्ने महिला, समूहमा आएका थिए। बिस्तारै श्रम बेचेर आम्दानीको स्रोत पहिचान गर्न थालेपछि महिलामा आत्मविश्वासबढ्दै गएको गजुलेल बताउँछिन्।
‘आफ्नो हातमा सीप नहुँदा आर्थिक रुपमा निकै खुम्चिन परेको थियो, अहिले भने आफ्ना लागि कसैसँग माग्नुपरेको छैन, उल्टै परिवारलाई सहयोग गर्दै आएको छु,’ खुसीका साथ उनले भनिन्। यद्यपि पछिल्लो समय उनलाई चिन्ता थपिएको छ। कोरोनापछि उत्पादन भएका सामग्रीले राम्रो बजार नपाउँदा उनमा चिन्ता थपिएको हो। गजुरेलको समूहले गृह श्रमिकका रुपमा नेपाली दौरा-सुरुवाल र साना बालबालिकाका लागि न्यानो कपडा सिलाउँछ। उत्पादित सामग्री न्युरोडमा बिक्री वितरण हुने गरेको उनी बताउँछिन्।
गजुरेलले भनिन्, ‘पहिलेजस्तो होइन, अहिले बजारमा प्रतिस्पर्धा छ, उत्पादन भएका सामग्री कति बेला घरमा थन्कने र बजार नपाउने हो पत्तो छैन।’ उनले स्थानीय सरकारसमक्ष अनुरोध गर्दै उत्पादन भएका सामग्री बिक्रीको सुनिश्चितता गरिदिए काम गर्ने वातावरण थप सहज हुने आशा व्यक्त गरिन्। गृह श्रमिकले ढुक्कका साथ सामग्री उत्पादन गर्न सक्नेगरी वातावरण बन्दिए हुन्थ्यो भन्छिन्- गजुरेल।
त्यसैगरी जोरपाटीमा बस्ने शान्ता कोइरालाले पनि १० वर्षदेखि गृह श्रमिकका रुपमा काम गरिरहेकी छन्। उनी स्वागतका लागि प्रयोग गरिने खादा बनाउँछिन्। कोइराला घरमा बसेरै राम्रो आम्दानी हुने भएपछि घरखर्च चलाउन सहज भएको बताउँछिन्। खादा बनाउन मेहनेत र लगानी धेरै छ, तर त्यसअनुसार सामग्रीको बजार छैन भन्छिन्- उनी। ‘लामो समयदेखि गृह श्रमिकका रुपमा काम गरेकालाई सरकारले केही दिन बिरामी भएर बस्दा पनि गाँस, बासमा समस्या नहुनेगरी थोरै केही आर्थिक व्यवस्था गरिदिए हुन्थ्यो,’ उनले स्थानीय सरकारसँग आशा व्यक्त गरिन्।
गृह श्रमिककै रुपमा बूढानीलकण्ठमा ५ वर्षदेखि फाइबर माला बनाउने रञ्जु तामाङले भने अन्य गृह श्रमिकले भन्दा फरक कहानी सुनाइन्। प्रयोग भइसकेका फाइबरका झोलाबाट घर सजावटको माला बनाउने गरेकी उनले आफूले उत्पादन गरेका फाइबर मालाले बजार नपाएकोप्रति दिनरात चिन्ता लागिरहेको बताइन्।
‘झोलाबाट माला बनाउन सिक्दा आफूले ऋण खोजेर सिकेको र अहिले बनाउनको लागि पनि उत्तिकै मेहनत गर्नुपर्छ। जति मेहनत गरेर माला तयार गरे पनि किन्ने मान्छेको अभाव छ,’ उनले भनिन्। तामाङका अनुसार विशेषगरी घर सजावटका लागि बढी प्रयोग हुने उक्त माला बनाउन कम्तीमा २ दिन लाग्छ। यसरी तयार गरेको सामग्री सहज बिक्री हुन भने निकै कठिन छ।
एकल महिला उनलाई मेहनतका साथ तयार गरिएका माला समयमा नै बिक्री नहुँदा दैनिक घर खर्च चलाउन पनि समस्या पर्ने गरेको छ। तामाङ भन्छिन्, ‘कहिले कहिले चिनजानको साथीभाइबाट मालाको माग हुने गरेको भए पनि व्यावसायिक रुपमा यसले बजार पाउन भने सकेको छैन।’ गृह श्रमिकका सामग्रीको बजारीकरण सहज बनाइदिन उनले सरकारसँग आग्रह गरिन्। तयार गरेको लामो समयसम्म पनि माला बिक्री नहुँदा लागत मूल्यभन्दा कममा माला बेच्नुपरेको गुनासो उनले सुनाइन्। तामाङले बजार नपाउँदा १२ सय पर्ने माला पाँच सयमा बेच्ने गरेकी छन्।
पछिल्लो समय गृह श्रमिक एक्लैएक्लै घरमा बसेर भन्दा पनि श्रमिककै अगुवाइ गर्ने विभिन्न संस्था सवा नेपाल, क्लास नेपाल, होमनेट नेपाल नामक संस्थामा आबद्ध भएर काम गर्छन्। यसरी काम गर्दा थप ऊर्जा मिल्ने गृह श्रमिक चन्द्रिका भट्टराईले बताइन्।
गृह श्रमिकको अवस्था
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएओ) महासन्धि, १७७ का अनुसार गृह श्रमिक भन्नाले रोजगारदाताको कार्यस्थलबाहेक कामदारका घर वा निजले छनोट गरेका स्थानमा बसेर पारिश्रमका लागि श्रम गर्ने व्यक्तिलाई बुझाउँछ। आईएलओले सन् २०१९ मा गरेको अध्ययनअनुसार विश्वभर २६ करोडभन्दा बढी गृह श्रमिक छन्। जसमा तीन कारोड ५० लाखले विकसित देशको प्रतिनिधित्व गर्छन्। यो सङ्ख्या विश्वव्यापी श्रम शक्तिका श्रमिकमध्ये ८ प्रतिशत हो। तीमध्ये १४ करोड ७० लाख महिला छन्।
नेपालको सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभागका अनुसार जम्मा श्रम शक्तिको १९ दशमलव २ प्रतिशत गृह श्रमिक छन्। जसमा ७० प्रतिशतभन्दा बढी हिस्सा महिला छन्। होमनेट दक्षिण एसियाको अनुमानअनुसार दक्षिण एसियाका भारत, बङ्गलादेश, पाकिस्तान र नेपालमा मात्र छ करोड ७० लाख गृह श्रमिक छन्।
गत वैशाखमा होमनेट इन्टरनेसनलको आयोजनामा काठमाडौँमा गृह श्रमिक सम्मेलन भएको थियो। जहाँ २९ देशका १ सय २७ जना गृह श्रमिक सहभागी भएका थिए। होमनेट साउथ एसियाको क्षेत्रीय संयोजक सृष्टि जोशी मल्लले गृह श्रमिकको थप व्यवस्थापनको पाटो अझै चुनौती रहेको बताइन्।
श्रमिकले मेहनेतका साथ उत्पादन गरेका सामग्रीकोे उपयुक्त बजार व्यवस्थापनको पाटो मिलाउन सम्बन्ध भएका निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिइन्। तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीले आफूले नगरपालिकामा श्रम डेस्क स्थापना गरेको जानकारी दिँदै यसका लागि काठमाडौँ उपत्यकाका अन्य स्थानीय तहसँग पनि समन्वय गरेर गृह श्रमिकको हक हितमा काम गर्ने प्रतिबद्धता जनाइन्।
प्रतिक्रिया