
श्रेणी : BANNER
काठमाडौ,०७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरू आइतबार दिउँसो सिंहदरबारभित्रैबाट प्रहरीले पक्राउ गरेका छन्।
राप्रपाले तीनकुने घटनाको छानबिन, पार्टी नेताहरूको रिहाइ तथा राजसंस्थाको पक्षमा समर्थन जनाउँदै प्रदर्शनको घोषणा गरेको थियो। सोही क्रममा लिङ्देन, ज्ञानेन्द्र शाहीलगायतका नेताहरू सिंहदरबारभित्र पसेर पम्प्लेटसहित प्रदर्शनमा उत्रिएका थिए।
प्रदर्शनका क्रममा प्रहरीले उनीहरूको पम्प्लेट खोसेको थियो भने त्यसपछि लिङ्देनसहितलाई पक्राउ गरी सिंहदरबारमै सुरक्षार्थ राखिएको छ। लिङ्देनले पक्राउ पर्दै गर्दा सरकारप्रति आक्रोश व्यक्त गर्दै लोकतन्त्रमा बोल्ने र प्रदर्शन गर्ने अधिकारसमेत कुण्ठित गर्न खोजिएको आरोप लगाए।
राप्रपाले यसअघि नै आइतबार निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने घोषणा गरेको थियो। बानेश्वरस्थित निषेधित क्षेत्रको नजिकै कार्यकर्ताहरू भेला भएपछि लिङ्देनलगायत नेताहरू संसदीय दलको कार्यालयमा पुगेका थिए। त्यहाँबाटै उनीहरूले सांकेतिक विरोध कार्यक्रम गरेका थिए।
यस घटनाले सरकार र सुरक्षा निकायमाथि फेरि एकपटक लोकतान्त्रिक अधिकार हननको प्रश्न उठाएको छ।


प्रतिक्रिया