श्रेणी : समाचार
काठमाडौं । सिंहदरवार र राष्ट्रपति कार्यालय शीतलनिवासको फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई विपक्षी बनाउँदै अधिवक्ता पदम श्रेष्ठले सोमबार रिट दायर गरेका हुन् ।
रिटमा आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानुन विपरित फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न माग गरिएको छ ।
काठमाडौं महानगरपालिकाको कार्यालय स्थानीय निकाय भएकाले नेपालको संविधानको धारा ३० मा प्रत्येक व्यक्ति स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक भएको, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३ र ४ बमोजिम स्वच्छ वातावरण कायम गर्न रिटमा माग गरिएको छ ।
काठमाडौंको सिंहदरवार भित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्रीको आवास रहेको क्षेत्रभित्र फोहोर संकलन नगर्ने भन्दै महानगरले एकसातादेखि फोहोर उठाएको छैन ।
प्रतिक्रिया