वीरगञ्ज, पर्सा — हनुमान जयन्तीको शोभा यात्राका क्रममा वीरगञ्जमा भएको साम्प्रदायिक झडप र त्यसपछिका घटनाले अहिले वीरगञ्जमा सामाजिक संवेदनशीलता चरममा पुगेको छ। विशेषगरी मुस्लिम संघ पर्साका अध्यक्ष जफर अन्सारीले टेलिभिजन अन्तर्वार्तामा दिएका विवादास्पद अभिव्यक्तिहरूले स्थिति थप जटिल बनाइरहेका छन्।
अन्सारीले अन्तर्वार्तामा वीरगञ्जका प्रमुख नेताहरू, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष र भारतको राष्ट्रिय स्वयंसेवक संघ (RSS) जस्ता संस्थाहरूलाई घटनामा जोड्दै अभिव्यक्ति दिएका थिए, जसलाई लिएर चौतर्फी आलोचना भइरहेको छ।
वीरगञ्ज उद्योग वाणिज्य संघको आपत्ति
संघले अन्सारीको अभिव्यक्तिलाई “तथ्यविहीन, उत्तेजक र सामाजिक सद्भावमा गम्भीर असर पार्ने खालको” भन्दै तुरुन्त फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ। संघका अध्यक्ष हरि गौतमले भने, “शान्ति र सामाजिक एकतामाथि हमला गर्ने यस्ता अभिव्यक्तिहरू स्वीकार्य छैनन्। समाजमा द्वन्द्व होइन, संवाद चाहिन्छ।”
अन्सारीको अभिव्यक्तिमा मित्रराष्ट्र भारतको राष्ट्रिय स्वयंसेवक संघ (RSS) को नाम जोडिएकोमा संघले विशेष आपत्ति जनाउँदै यस्तो कुराले नेपाल–भारत सम्बन्धमा समेत असर पार्ने बताएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्याल: “कानुनभन्दा माथि कोही छैन”
यस प्रकरणमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भनेका छन्, “जो कोहीले पनि समाजमा द्वन्द्व र असन्तोष फैलाउने उद्देश्यले अभिव्यक्ति दिन्छन् भने, त्यसलाई कानुनको दायरामा ल्याइनेछ। कानुनभन्दा माथि कोही छैन।”
उनले भने, “हाल हाम्रो पहिलो प्राथमिकता सामाजिक सद्भाव र शान्ति कायम गर्नु हो। सबै पक्षले संयमता अपनाउनु र जिम्मेवार व्यवहार गर्नु आवश्यक छ।”
झडपको पृष्ठभूमि: ४३ जना घाइते
हनुमान जयन्तीको शोभा यात्राका क्रममा मस्जिद क्षेत्रबाट ढुंगा प्रहार भएको आरोप लागेपछि तनाव सुरु भएको थियो। झडपका क्रममा प्रहरी, सशस्त्र र सर्वसाधारणसहित ४३ जना घाइते भएका थिए। अवस्था नियन्त्रणमा लिन प्रशासनले तत्काल कर्फ्यु आदेश जारी गरेको थियो।
स्थानीय र सरोकारवाला पक्षहरू: “शान्तिको पक्षमा ऐक्यबद्धता”
स्थानिय समुदाय र सरोकारवालाहरूले वीरगञ्ज उद्योग वाणिज्य संघको धारणा समर्थन गर्दै सबै पक्षले जिम्मेवार र संयमित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया