
श्रेणी : प्रदेश
काठमाडौँ,३० माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक जसरी पनि संसद्बाट पारित गराउने बताएका छन्।
सङ्घीय संसद्मा छलफलमा रहेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयकबारे केही समूहले विरोध जनाए पनि सामाजिक सद्भाव र सभ्य समाज निर्माणका लागि यो विधेयक आवश्यक रहेको उनले स्पष्ट पारे।
सुरक्षित इन्टरनेट दिवस २०२५ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आयोजित राष्ट्रिय कार्यशालामा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नियमन अनिवार्य रहेको बताए।
“विधेयक ल्याउने विषयलाई लिएर केही समूहले अनावश्यक हल्ला मच्चाइरहेका छन्,” मन्त्री गुरुङले भने, “नियमन गर्नु भनेको फेसबुक हेर्नै नपाउने भन्ने होइन, गलत प्रचार गरिएको छ।” उनले अभिव्यक्ति स्वतन्त्रता मौलिक हक भए पनि गालीगलौज गर्ने छुट नभएको बताए।
मन्त्री गुरुङका अनुसार सरकार आईटी क्षेत्रको प्रवर्द्धन, एआई तथा साइबर सुरक्षासम्बन्धी नीतिहरू ल्याउने तयारीमा छ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताइन्। त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले इन्टरनेट असुरक्षित हुँदा महिला तथा बालबालिका बढी प्रभावित हुने भन्दै डिजिटल साक्षरतामा सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया