
श्रेणी : BANNER
बीरगन्ज,०४ वैशाख । पर्सा जिल्लामा अहिले पनि झन्डै ८ हजार दलित बालबालिका विद्यालयको पहुँचबाट बाहिर छन्। दलित समुदाय र तिनका बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था ‘पिस फर दलित फाउन्डेशन’ का अनुसार आर्थिक अभाव र सामाजिक भेदभावका कारणले ती बालबालिका शिक्षा प्रणालीबाट टाढा रहेका हुन्।
संस्थाका अध्यक्ष मनोज रामका अनुसार दलित समुदायका धेरैजसो परिवारको गुजारा दैनिक ज्याला–मजदूरीबाट चल्ने हुँदा, बालबालिकालाई १० वर्ष नपुग्दै काममा पठाउनुपरेको छ। “पढाइको सट्टा उनीहरूलाई घरको खर्च धान्नमा लगाइन्छ,” अध्यक्ष रामले भने।
शिक्षक र अन्य विद्यार्थीबाट भेदभावका घटना अझै हट्न नसकेको भन्दै उनले विद्यालयमा रहेका दलित बालबालिकाले पनि बीचमै पढाइ छाड्ने गरेको बताए। उनका अनुसार जिल्लामा करिब १० हजार दलित बालबालिका अहिले विद्यालयमा छन्, तर त्यो संख्या अपेक्षाकृत कम हो।
फाउन्डेशनले यस वर्ष पर्सा जिल्लामा विद्यालयबाहिर रहेका एक हजार दलित बालबालिकालाई विद्यालय भर्ना गराउने लक्ष्य लिएको छ। गत वर्ष दुई सय बालबालिकालाई विद्यालय भर्ना गराइएको थियो। अध्यक्ष राम भन्छन्, “विद्यालयमा भर्ना गराउनु मात्र चुनौती होइन, उनीहरूलाई टिकाइराख्नु झनै कठिन छ।”
उनले सरकारले दिने वार्षिक ४ सय रुपैयाँको छात्रवृत्तिले शिक्षासँग जोडिएका खर्च धान्न नसक्ने बताए। “कापी, कलम, पोशाक, झोला जस्ता आवश्यकताका लागि त्यो रकम पर्याप्त छैन,” उनले भने।
रामले जिल्लाका पालिकाहरू दलित बालबालिकालाई शिक्षित बनाउने प्रयासमा चासो नदेखाएको आरोप लगाए। उनका अनुसार पर्सामा दलित जनसंख्या झन्डै डेढ लाख जति छ।
पिस फर दलित फाउन्डेशनले पछिल्ला चार–पाँच वर्षदेखि दलित बालबालिकाका लागि निःशुल्क ट्युशन कक्षा सञ्चालन गर्दै आएको छ। वीरगन्ज महानगरपालिका–१९ केहुनिया विन्ध्यवासिनी, सखुवाप्रसौनी गाउँपालिका–३ र ५ का कौवावनकटैया र महुवनमा बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई ट्युशन दिइँदै आएको हो।
अमेरिका र अस्ट्रेलियामा रहेका नेपालीहरूको सहयोगमा सञ्चालित यस ट्युशन कार्यक्रममा स्थानीय पालिकाबाट भने हालसम्म कुनै सहयोग प्राप्त नभएको फाउन्डेशनको भनाइ छ।
रामका अनुसार, ट्युशन व्यवस्थापछि विद्यालयमा नियमित जाने र उत्तीर्ण हुने दलित बालबालिकाको संख्या क्रमशः ७० र ६० प्रतिशतले बढेको छ।

प्रतिक्रिया