वीरगन्ज :

सामाजिक न्यायसहित समृद्धिको नयाँ युगको थालनी गर्नुपर्छ : प्रधानमन्त्री

श्रेणी : राजनीति

2 years
birgunj report
7Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगको थालनी गर्नुपर्ने बताएका छन् ।

माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकको आर्थिक समृद्धिलाई आफूले सपनाका रुपमा लिएको र वर्तमान सरकारले त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“मैले यसलाई सङ्कल्प र प्रतिबद्धताका रुपमा लिएको छु, एउटा प्रधानमन्त्रीले चाहेर मात्र पनि हुँदैन, समृद्धिको यात्रा हासिल गर्न विभिन्न जनसङ्गठनले साथ दिनुपर्छ”, उनले भने, “सरकार र पार्टीलाई यो चुनौतीपूर्ण अवसरलाई सफल पार्न तपाइँहरुले संस्थागत रुपले पहलकदमी गर्नुपर्नेछ ।”

सरकारको नेतृत्वका रुपमा पाएको यो अवसरलाई सदुपयोग गर्नुपर्नेमा आफू सचेत रहेको जनाउँदै उनले वर्तमान सरकारले चुनौतीलाई चिर्न सफल हुने बताए ।

“जनताको विकास निर्माणसम्बन्धी आकाङ्क्षा पूरा गर्न र भ्रष्टाचार नियन्त्रणमा कठोर रूपमा अघि बढ्नुपर्छ”, प्रधानमन्त्री दाहालले भने, “आर्थिक समृद्धिको जुन कल्पना गरेका छौँ । त्यसलाई पूरा गर्नु छ । त्यसपछि देशमा नयाँ युग सुरु हुनेछ ।”

राजधानीमा मङ्गलबारदेखि सुरु तेस्रो पूर्ण बैठकमा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण, आगामी कार्यदिशाका बारेमा छलफल भएको थियो ।

बैठकको पहिलो दिन उपाध्यक्ष कृष्णबहादुर महराले प्रशिक्षण दिएका थिए । वाइसिएलले ‘जनताको घरदैलोमा वाइसिएल’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *