वीरगन्ज :

सानो पाइला सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित ३५ जनाविरुद्ध पर्सामा अभियोगपत्र दर्ता हुने तयारी

श्रेणी : अर्थ

3 hours
Pradeep Sah
1.9kViews
1671 Shares

बीरगन्ज,२४ माघ । पर्सा जिल्ला प्रहरी कार्यालयले सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठगी प्रकरणमा रवि लामिछानेसहित ३५ जनाविरुद्ध अभियोगपत्र दर्ता गर्ने तयारी गरेको छ। सहकारीका झन्डै ४ हजार ८ सय सदस्यले बचत फिर्ता नपाएको भन्दै उजुरी दिएपछि प्रहरी अनुसन्धान अघि बढाएको हो।

चितवनमा लामिछानेविरुद्ध उजुरी दर्ता भइसकेको छ। त्यहाँको कानुनी प्रक्रिया सकिएपछि पर्सा प्रहरीले जिल्ला न्यायाधिवक्ताको कार्यालयमा अभियोगपत्र दर्ता गर्ने जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले समेत पर्सा जिल्ला प्रहरी कार्यालयमा आएर उजुरीको अध्ययन गरिरहेको छ।

यसअघि बीरगन्ज महानगरपालिका र मनीषकुमार सिस्काले पर्सा जिल्ला अदालतमा सानो पाइला सहकारीविरुद्ध दुईवटा मुद्दा दर्ता गरेका थिए। तर, ती अभियोगपत्रमा लामिछानेको नाम उल्लेख गरिएको थिएन। प्रहरीका अनुसार पूर्व डिआइजी छविलाल जोशीको घरमा छापामारी गर्दा लामिछानेसँग सम्बन्धित ठगीका प्रमाण भेटिएको दाबी गरिएको छ।

प्रारम्भिक मुद्दामा २४.५ करोड अपचलनको आरोप लगाइएको भए पनि अनुसन्धानका क्रममा यो रकम बढेर करिब एक अर्ब रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ।

सहकारी प्रकरणमा संस्थाकी पूर्व उपाध्यक्ष नेहा पौडेल र कर्मचारी राधेचन्द्र यादवलाई धरौटीमा रिहा गरिएको छ। पौडेललाई १ करोड १० लाख धरौटीमा र यादवलाई ३५ लाख धरौटीमा छोडिएको थियो।

रवि लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख, रूपन्देहीबाट ६० लाख, र काठमाडौं जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका छन्। हाल उनीविरुद्ध चितवन जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार चितवनको मुद्दा छिनोफानो भएपछि पर्सामा लामिछानेविरुद्धको मुद्दा अगाडि बढाइनेछ। अभियोगपत्र दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *