बीरगन्ज,११ फागुन ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न सानो पाइला सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धान अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले अब सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत पनि अनुसन्धान अघि बढाएको छ।
सरकारी वकिल कार्यालयको निर्देशनअनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए। उनका अनुसार सहकारी रकम अपचलनसम्बन्धी अनुसन्धान लगभग पूरा भइसकेको छ भने सम्पत्ति शुद्धीकरणको पक्षमा अझै केही कागजात संकलन गर्न बाँकी छ।
संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कको बैंक खातामा सिधै ८ करोड ५८ लाख रुपैयाँ सारिएको देखिएको छ। साथै, गोरखा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीको नाममा पनि १ करोड ८६ लाख ९४ हजार रुपैयाँ स्थानान्तरण भएको तथ्य फेला परेको छ।
सानो पाइला सहकारीका १ सय ७९ जना बचतकर्ताले डेढ वर्षअघि संस्थाका पदाधिकारीविरुद्ध सहकारी ठगी मुद्दा दर्ता गराएका थिए। तर, त्यतिबेला गोरखा मिडियामा रकम सारिएको प्रमाण नभेटिएकाले लामिछानेको नाम उजुरीमा उल्लेख गर्न नसकिएको बचतकर्ताहरू बताउँछन्। संसदीय छानबिन समितिको प्रतिवेदनपछि मात्रै गोरखा मिडियामा सानो पाइला सहकारीको रकम गइसकेको प्रमाण बाहिरिएको हो।
यसअघि, सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल १ करोड १० लाख रुपैयाँ धरौटीमा रिहा भएकी थिइन् भने कर्मचारी राधेचन्द्र यादव ३५ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।
प्रहरीका अनुसार सानो पाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, प्रबन्धक असरफ अली सिद्दीकी, संरक्षक गीतेन्द्र बाबु (जिबी) राईलगायत ११ जना फरार छन्। उनीहरूलाई पक्राउ गर्नका लागि प्रहरीले निगरानी बढाएको जनाएको छ।
प्रतिक्रिया