
श्रेणी : मधेस
बीरगन्ज,०७ जेठ । बाराको कलैया उपमहानगरपालिका–१८ मोतिसर घर भएका ४७ वर्षीय जोगेश्वर ठाकुरले सात वर्षसम्म परिवारले गोठमा साङ्लोले बाँधेर राखेको नरकको जीवनपछि नयाँ जीवन पाए। अहिले उनी हथोडा र आरी चलाउँदै काठका सामग्री बनाउँदै आफ्नो पुरानो पेशामा फर्किएका छन् भने करेसाबारीमा तरकारीका बोट बिरुवा पनि गोडमेल गर्दै परिवार र छिमेकीसँग शान्तिपूर्ण जीवन बिताइरहेका छन्।
जोगेश्वरको मानसिक अवस्था लामो समयसम्म अस्थिर थियो। उनको उपचारका लागि नेपाल र भारतका विभिन्न अस्पताल धाएका थिए, जसका कारण उपचार खर्चमा ५ कठ्ठा खेत पनि बिक्री गर्नुपरेको थियो। परिवारले उनलाई पटक–पटक कुटपिट गर्ने, गाली गर्ने कारण बाध्य भएर साङ्लोमा बाँधेर राख्नु परेको थियो।
२०७४ साल असारमा मानव सेवा आश्रम वीरगञ्जले उनको उद्धार गरी आठ महिना मानसिक उपचार गरायो। मानसिक रोग विशेषज्ञ डा। भरत गोइतको उपचारपछि उनको अवस्थामा उल्लेखनीय सुधार आयो र त्यसपछि आश्रमले उनलाई परिवारमा पुनर्मिलन गरायो। अहिले पनि सामान्य औषधोपचार जारी छ र डा। गोइतको सम्पर्कमा छन्।
उनकी पत्नी ४२ वर्षीया सुदामा देवी बताउँछिन्, “धेरै वर्ष पतिको उपचार गर्दा धेरै थकित भइन्, खेत पनि बेचियो। तर अहिले मानसिक रूपमा सुधार आएपछि तनाव छैन।” दुई छोराले कमाई सुरु गरेको र जोगेश्वरले पुरानो पेशामा फर्किएपछि परिवारको जीवन सहज भएको उनले भनिन्।
जोगेश्वरका अनुसार, २०६२ सालमा वीरगन्ज पिपरामठमा तत्कालीन राजा ज्ञानेन्द्रको भ्रमणका बेला सवारीस्थलमा काम गरेका थिए, तर पारिश्रमिक नपाएर सुरक्षाकर्मीबाट धम्की पाएको घटनाले उनको मानसिक स्वास्थ्य बिग्रन थाल्यो। त्यसपछि उनी आफैलाई सम्झनै नसक्ने अवस्था सम्म पुगे।
मानव सेवा आश्रम वीरगञ्जका अभिभावक प्रकाश थारुले भने, “जोगेश्वरले भोगेको जीवन सबैभन्दा दुःखद थियो। परिवारबाटै सात वर्षसम्म निर्वस्त्र अवस्थामा साङ्लोले बाँधिनु अद्भुत र पीडादायक कुरा हो। अहिले उनी नयाँ जीवन बाँचिरहेका छन्, यसभन्दा ठूलो खुशी के हुन सक्छ?”
आश्रमले २०७६ जेठ १५ मा स्थापना भएदेखि हालसम्म २७६ जनाको उद्धार गरेको छ। तीमध्ये ९७ जनालाई परिवारमा पुनर्मिलन गराइएको छ। आश्रममा संरक्षण लिएका ३४ जनाको मृत्यु भइसकेको छ भने ८७ जनाले उपचारपछि स्वेच्छाले आश्रम छोडेका छन्। हाल आश्रममा ५७ महिला, पुरुष र बालबालिका आश्रित छन्।


प्रतिक्रिया