वीरगन्ज :

साउन १ देखि सुर्तीजन्य पदार्थमा पूर्ण चेतावनी चित्र अनिवार्य

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.6kViews
1828 Shares

बीरगन्ज,३१ असार । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्नका लागि सरकारले एक महत्त्वपूर्ण कदम चालेको छ । आगामी साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स लगायतका सबै बाहिरी खोलमा शतप्रतिशत चेतावनीमूलक चित्र अनिवार्य गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको यो निर्देशिका लागू भएपछि नेपाल विश्वमा यस्तो व्यवस्था लागू गर्ने पहिलो राष्ट्र बन्ने दाबी गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीका अनुसार, सुर्तीजन्य पदार्थको बाहिरी खोलको शतप्रतिशत भागमा खतराको चिह्नसहित अगाडि र पछाडिको भागमा चित्र अनिवार्य रूपमा छाप्नुपर्नेछ । यसका लागि खतराको चिह्नसहित ६ वटा चित्र तयार पारिएको छ । बाहिरी खोलको ८० प्रतिशत भाग चित्रले ओगट्नुपर्नेछ भने बाँकी २० प्रतिशतमा ‘यसको सेवनले क्यान्सर हुन्छ’ जस्ता सन्देशहरू उल्लेख गर्नुपर्नेछ ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले चित्रसहितको स्वास्थ्य चेतावनीलाई सुर्तीजन्य पदार्थ नियन्त्रणको महत्त्वपूर्ण उपलब्धि मानेको छ । अध्ययनहरूले चेतावनीमूलक सन्देश र चित्रको आकार बढाउँदै जाँदा प्रयोगकर्ता घट्ने, प्रयोग गरिरहेकाले छाड्ने र नयाँ प्रयोगकर्ता हच्किने देखाएका छन् । यही आधारमा नेपाल सरकारले शतप्रतिशत चेतावनीमूलक चित्रको व्यवस्था लागू गरेको डा. केसीले बताए । सरकारको यो कदमलाई सकारात्मक मानिए पनि केही विज्ञहरूले भने यो मात्र पर्याप्त नहुने बताएका छन् । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थको सेवन कम गर्न कर बढाउनुपर्नेमा जोड दिए । उनले जति ठूलो चित्र, त्यति ठूलो सन्देश हुने र फरक–फरक चित्रले चेतना बढ्ने तर्क गरे ।

काठमाडौँ मेडिकल कलेजका छातीरोग विशेषज्ञ डा. नवीन मिश्रले पनि शतप्रतिशत खतराको चिह्न राख्नु सकारात्मक भए पनि बहुआयामिक अवधारणा नभएसम्म सेवन कम हुन नसक्ने बताए । उनले प्रचारप्रसारलाई प्राथमिकता दिन, आम नागरिकमा सचेतना बढाउन र प्रयोग दर कम गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकार सक्रिय हुनुपर्ने सुझाव दिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वार्षिक ३९ हजार २०० जनाको ज्यान सुर्तीजन्य पदार्थको सेवनकै कारण जाने गरेको छ, जुन कुल मृत्युको ११ प्रतिशत हो । डा. मिश्रका अनुसार सुर्तीजन्य पदार्थको सेवनले श्वासप्रश्वास, मुख, ओठ, अन्ननली, फोक्सो, घाँटी, मिर्गौलालगायत २० भन्दा बढी प्रकारका क्यान्सर हुने गर्छ । यसले फर्टिलिटीमा पनि असर पार्ने र गर्भवती महिलाले सेवन गरेमा बच्चाको तौल कम हुने तथा बच्चाको आयु नै दुई वर्षसम्म कम हुन सक्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *