
श्रेणी : मधेस
बीरगन्ज,१५ माघ । बीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित साउथ जोन माविले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १४ महिलासहित ५३ जनाले रक्तदान गरेका छन्।
विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति विरेन्द्रराज कँडेल प्रमुख अतिथि थिए। कँडेलले पहिलो रक्तदाता सम्झना चौधरीलाई रक्त संकलन पोका हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे।
रक्तदानमा सरिता झा, दिपा शर्मा, स्मिता सिलवाल, राजन दास, धीरज घिमिरे, सुनिल कपुर दास, कुनाल जयसवाल र विशाल पटेललगायतले रक्तदान गरेका थिए। कार्यक्रममा मन्त्री विनोद गिरी, प्याब्सन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याक केसी, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख डा. उमेश चौरसिया, पत्रकार जगत राई र प्रणय साहलगायतको उपस्थिति रहेको थियो।
स्वास्थ्य शिविरमा ५० भन्दा बढी अभिभावक लाभान्वित
विद्यालयले वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार अभिभावकहरूका लागि निःशुल्क स्वास्थ्य जाँच शिविर पनि आयोजना गर्यो। सहायक प्रधानाध्यापक अशोक संग्रौलाका अनुसार डा. वेदप्रकाश कुशवाहा र डा. सुशिल कुमार साहको सिफारिसमा आवश्यक परीक्षण र औषधि वितरण गरिएको थियो। ५० भन्दा बढी अभिभावकले यस शिविरबाट लाभ लिए।
सप्ताहव्यापी कार्यक्रम
संग्रौलाका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माघ १६ गते नर्सरीदेखि कक्षा २ सम्मको खेलकुद, माघ १७ गते सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण, माघ १८ गते नर्सरीदेखि कक्षा २ सम्म सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम, र माघ २० गते समापनसहित पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ।
२०६६ सालमा स्थापना भएको यो विद्यालयमा हाल करिब १८ सय विद्यार्थी अध्ययनरत छन्।


प्रतिक्रिया