बीरगन्ज, ०४ फाल्गुन । सशस्त्र प्रहरी बल पर्साले ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले पछिल्लो नौ महिनामा ३५ करोड ५९ लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको राजस्व छलिको सामान बरामद गरेको छ ।
आर्थिक वर्ष २०८१ को जेष्ठदेखि माघ महिनासम्म सशस्त्र प्रहरीले वीरगन्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा उल्लेख्य मात्रामा बरामद सामान बुझाएको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार वीरगन्ज भन्सार कार्यालयमा २३ लाख ४१ हजार रुपैयाँ र राजस्व अनुसन्धान कार्यालय पथलैयामा १२ करोड १७ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बुझाइएको छ ।
गत वर्षको तुलनामा यस वर्ष राजस्व सङ्कलन दरमा उल्लेखनीय वृद्धि भएको देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा १७ करोड ९ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको थियो ।
सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले अवैध तस्करी नियन्त्रण गर्न निगरानी कडा पार्ने जनाएको छ। साथै, बोर्डर आउट पोस्ट (BOP) को संरचना विस्तार गर्न पर्साका विभिन्न स्थानमा जग्गा खोजी प्रक्रिया पूरा भएको र मन्त्रीपरिषद्को स्वीकृति पछि भवन निर्माणको कार्य अघि बढ्ने सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले जानकारी दिएका छन् ।
सीमा सुरक्षामा कडाइसँगै राजस्व वृद्धि र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले थप प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया