
श्रेणी : अपराध
बीरगन्ज,१२ जेठ । पर्सा जिल्लामा सशस्त्र प्रहरी बल, नेपालले भन्सार छली गरी अवैध रूपमा ओसारपसार गरिंदै गरेका १० लाख ८४ हजार रुपैयाँभन्दा बढी मूल्यका सामानहरू नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगन्जबाट खटिएको टोलीले बीरगन्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानहरूबाट भारत–नेपाल सीमाबाट लुकाईछिपाई चोरी पैठारी तथा निकासी हुँदै गरेका सामानहरू बरामद गरेको हो।
बरामद गरिएका सामग्रीमा तयारी कपडा, किराना सामान, मोबाइल तथा मोटर पार्ट्स, फलफूल, मदिरा, र विभिन्न प्रकारका अवैध सामग्रीहरू समावेश छन्। ती सामानहरू ओसारपसार गर्न प्रयोग गरिएका दुई थान मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी एवं नायब उपरीक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंहका अनुसार, बीरगञ्ज क्षेत्रबाट मात्रै ८ लाख ३७ हजार १२० रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरिएको हो।
त्यस्तै, गुल्म अलौबाट खटिएको अर्को टोलीले अलौ र कोनिया क्षेत्रबाट १ लाख १८ हजार २ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ।
यसैगरी, बिओपी प्रसौनीभाठा र बिओपी सिर्सियाबाट खटिएको टोलीले छुट्टाछुट्टै रुपमा १ लाख २८ हजार ८७० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइसकेको छ।


प्रतिक्रिया