
श्रेणी : BANNER
बीरगन्ज, ३१ वैशाख । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याइएको ठूलो परिमाणको गहुँ र चामलको कनिका बरामद गरेको छ। बिन्दवासिनी गाउँपालिका–४ स्थित अमरपट्टी नाकाको एक खेतमा लुकाएर राखिएको उक्त सामग्री सशस्त्र प्रहरीको टोलीले बुधबार दिउँसो फेला पारेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर सिंहका अनुसार, खेतमा लुकाएर राखिएको १०६ बोरा गहुँ (५३ क्विन्टल) र २८ बोरा चामलको कनिका (११ क्विन्टल ६४ केजी) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
“तस्करहरूले भन्सार राजस्व छल्दै भारतबाट ल्याएको गहुँ र चामलको कनिका खेतमै भण्डारण गरेर राखिएको अवस्थामा फेला पारिएको हो,” डीएसपी सिंहले जानकारी दिए।
वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय र सीमा सुरक्षा गुल्म, अलौबाट खटिएको संयुक्त टोलीले सो सामग्री बरामद गरेको हो।
बरामद गरिएका वस्तुको अनुमानित बजार मूल्य २ लाख ३१ हजार २० रुपैयाँ रहेको छ। बरामद सामग्रीलाई आवश्यक प्रक्रिया पूरा गरी बुधबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।


प्रतिक्रिया