
श्रेणी : मधेस
बीरगन्ज,१३ चैत । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ का विवादास्पद वडा अध्यक्ष सुनिल गुप्ता धरौटीमा रिहा भएका छन्। आपराधिक प्रवेश र आपराधिक उपद्रव सम्बन्धी मुद्दामा १० दिन हिरासतमा रहेका गुप्ताले १ लाख २५ हजार रुपैयाँ धरौटी बुझाएर स्वतन्त्रता प्राप्त गरेका हुन्।
जिल्ला अदालत बाराको न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलवार उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
वडा अध्यक्ष गुप्तालाई चैत ३ गते प्रहरीले नियन्त्रणमा लिएको थियो। जीतपुरसिमरा-७ का स्थानीय वृद्ध परशुराम गिरीको घरमा जबरजस्ती प्रवेश गरी कुटपिट तथा गालीगलौज गरेको आरोप उनीमाथि लागेको थियो। गिरीले चैत १ गते होलीको रात गुप्ताले मदिरा सेवन गरेर आफूमाथि आक्रमण गरेको दाबी गरेका थिए।
प्रहरीले प्रारम्भिक अनुसन्धानपछि गुप्तालाई डाँका, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव जस्ता गम्भीर आरोप लगाएको थियो। तर अनुसन्धान अघि बढेसँगै मुद्दालाई परिमार्जन गरी आपराधिक प्रवेश र आपराधिक उपद्रवमा सीमित गरिएको छ।
घटनामा गुप्तासहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ। सोही घटनाका अर्का अभियुक्त सुनिल गुप्ता (नाम संयोग) पनि ७५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। बाँकी ८ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
वडा अध्यक्ष गुप्ता यसअघि पनि विवादमा मुछिएका थिए। गत वर्ष जीतपुरका राजुराज गिरीको घरमा डोजर लिएर प्रवेश गरी तोडफोड गरेको आरोपमा उनविरुद्ध आपराधिक उपद्रवको मुद्दा चलेको थियो। बारा जिल्ला अदालतले उनलाई दोषी ठहर गरे पनि मुद्दा अहिले उच्च अदालतमा विचाराधीन छ।
स्थानीयहरूले पटक–पटक गुप्ताले आफ्नो पदको दुरुपयोग गर्दै आएको आरोप लगाउँदै आएका छन्।
गुप्ताको मुद्दा राजनीतिक वृत्तमा समेत चर्को बहसको विषय बनेको छ। बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ले सदनमै उठेर गुप्तामाथि कडा कारबाही गर्न माग गरेका थिए। उनले प्रशासन गुप्तालाई जोगाउन लागिपरेको आरोपसमेत लगाएका छन्।
यता, बारा क्षेत्र नम्बर ३ की सांसद ज्वाला कुमारी साह भने गुप्ताको समर्थनमा उभिइन्। उनले गुप्तालाई झुटो मुद्दामा फसाइएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरिन्।नेकपा एमाले बाराले पनि गुप्ताको पक्षमा प्रेस विज्ञप्ति जारी गर्दै मुद्दालाई राजनीतिक प्रतिशोधको परिणाम भनेको छ।
प्रहरीले फरार रहेका ८ अभियुक्तको खोजी जारी राखेको छ भने अदालतमा मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया