वीरगन्ज :

सर्वदलीय बैठकमा प्रधानमन्त्रीः सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिमा फेरबदल आयो

श्रेणी : राजनीति

2 years
birgunj report
17Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिएका छन् । मंगलबार अपरान्ह आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्रीले सरकारलाई विश्वासको मत दिने दलहरुलाई धन्यवाद दिएका हुन् । पुस २६ गतेको संसदमा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले बालुवाटार बोलाएका थिए ।

बैठकमा उनले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गर्नु सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको भन्दै प्रतिपक्षीले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको बताए ।

प्रधानमन्त्रीले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै बदलिएको परिस्थितिमा के–कसरी अगाडि बढ्न सकिएला भन्ने विषयमा नेताहरूको सुझाव मागेका थिए । प्रधानमन्त्रीले सरकारका सन्दर्भमा सत्ता साझेदार दलबीचको सहमति नै लागू हुने स्पष्ट गर्दै संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राख्दै दलहरूको धारणा र सुझाव मागेका थिए । उनले आफू सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोहीअनुसार नै मंगलबार मन्त्रिपरिषदले पूर्णता पाएको भन्दै संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने बताए ।

नेपाली काँग्रेसले पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने पद भएकाले यसलाई सहमतिमै चयन गर्न आफ्नो पार्टी तयार रहेका धारणा बैठकमा राखेको थियो ।

उनले भने,‘नेपाली काँग्रेस प्रतिनिधिसभामा, राष्ट्रिय सभामा प्रमुख विपक्षी दलको रुपमा रहेको छ । र, हाम्रो पार्टी सभापति शेरबहादुरजीले प्रमुख विपक्षी दलको नेताको हैसियतमा हुनुहुन्छ भनेर आफ्ना कुराहरु राख्यौं । प्रधानमन्त्रीजीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमति गरेर अगाड बढ्न सकिन्छ कि भन्ने कुरा पनि राख्नुभयो । हामी सभामुखको निर्वाचनबारे आन्तरिक छलफल गर्छौं । राति, भोलि बिहानसम्म छलफल गरेर हामी हाम्रो धारणा अघि बढाउँछौं ।’

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी लगायत सरकारलाई विश्वासको मत दिने दलका नेताहरूले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल, एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रबि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायत उपस्थित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *