
श्रेणी : मधेस
जनकपुर,०६ जेठ । पूर्व–पश्चिम राजमार्गको सर्लाही खण्डमा सोमबार अपराह्न बस र म्याजिक सवारी ठोक्किँदा एक युवतीको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।
लालबन्दी नगरपालिका–१७ स्थित रानीगन्ज घिमिरे चोकमा भएको दुर्घटनामा म्याजिक सवार २२ वर्षीया सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो। उनी रानीगन्ज निवासी वीरसिंह पन्तकी छोरी हुन्।
विराटनगरबाट मलङ्गवा जाँदै गरेको ना. ६ ख. ७२२७ नम्बरको यात्रुबाहक बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना. १ ज. २६४५ नम्बरको म्याजिक अपराह्न पौने ५ बजे डाइभर्सन बनाइएको क्षेत्रमा एकआपसमा ठोक्किएका थिए।
इलाका प्रहरी कार्यालय, लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार आठ जना घाइतेको उपचार मोडेल अस्पताल, लालबन्दीमा भइरहेको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। मृतकको शव पनि सोही अस्पतालमा राखिएको छ।
दुर्घटनापछि म्याजिक चालक घाइते अवस्थामा फेला परेका छन् भने बस चालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया