
श्रेणी : मधेस
सर्लाही,०१ साउन । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा रहेको न्यु माँ राजदेवी खाद्य उद्योग परिसरभित्र ट्रकमा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
घटना आज बिहान रौतहटबाट धानको भुस बोकेर ल्याइएको ना.६ ख ७५५० नम्बरको ट्रकमा भएको हो। उद्योग परिसरमा ट्रकबाट त्रिपाल हटाउने क्रममा माथिबाट गुज्रिएको ११ हजार भोल्ट क्षमताको विद्युत् लाइनको करेन्ट ट्रकमा सरेपछि दुर्घटना भएको हो।
घटनामा रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवान गम्भीर घाइते भएका थिए। उपचारका लागि हरिवनस्थित नमुना अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
यस्तै, सोही घटनामा २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान घाइते भएका छन्। दुवैको अहिले उपचार भइरहेको छ र अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
इलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी सई भरत साहको नेतृत्वमा गएको टोलीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो। दुर्घटनामा संलग्न ट्रक नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया