
श्रेणी : अपराध
जनकपुर,२१ जेठ । सर्लाहीको ईश्वरपुर नगरपालिका–५ स्थित फूलजोर चोकमा मंगलबार भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गमा माटो ओसार्ने क्रममा रहेको एक टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका प्रहरी जवान मीनबहादुर दानीको मृत्यु भएको हो।
३० वर्षीय दानी बाजुराको बडीमालिका नगरपालिका–६ निवासी हुन्। उनी हाल मुस्लिम आयोगका सदस्य मोहम्मद सम्सुल हकको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) का रूपमा खटिएका थिए। प्रहरीका अनुसार उनी सर्लाहीको मलंगवा नगरपालिका–३ निवासी हकसँगै कार्यरत थिए।
बयलवासबाट फूलजोरतर्फ गइरहेका दानी सवार बीआर ०१ एफ जे ६९६१ नम्बरको मोटरसाइकललाई रानिगन्जबाट आएको ना १ क ८५२० नम्बरको टिपरले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई लालबन्दीस्थित मोडेल अस्पतालमा लगिएको भए पनि थप उपचारका लागि बाराको एल.एस. न्युरो अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राई ले जानकारी दिए।
दानी सशस्त्र प्रहरी गण नं. १, गुल्म नं. २ नक्साल, काठमाडौँमा कार्यरत थिए।
यो घटना केही दिनअघि सर्लाहीकै बागमती नगरपालिका–१, मिलनचोकमा टिपरकै ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटनासँग मिल्दोजुल्दो छ। पूर्व–पश्चिम राजमार्ग विस्तारको क्रममा टिपरको अत्यधिक प्रयोग भइरहेको छ, तर ती सवारी साधन लापरवाही ढंगले सञ्चालन हुँदा दुर्घटनाको संख्या दिनानुदिन बढ्दो छ।


प्रतिक्रिया