
श्रेणी : मधेस
जनकपुर,०४ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाही जिल्लाका ११ वटा निजी अस्पतालहरूलाई तत्काल प्रभावबाट बन्द गर्न आदेश दिएका छन्। बुधबार साँझ गरिएको अनुगमनपछि आवश्यक अनुमति नलिइ सञ्चालनमा आएका तथा स्वास्थ्य मापदण्ड पूरा नगरेका ती अस्पतालहरूमा कडाइ गरिएको हो।
मुख्यमन्त्री सिंहको नेतृत्वमा भएको निरीक्षणका क्रममा बरहथवास्थित संकटमोचन हेल्थकेयर, सञ्जीवनी हस्पिटल, हैपीकेयर मेडिकल, सर्लाही गोल्डेन हस्पिटल, युनिट हस्पिटल, भेनस हेल्थ केयर, नवजीवन हस्पिटल, हनुमन्त हस्पिटल, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थ केयर र बरहथवा पोलिक्लिनिकलाई तत्काल सेवा बन्द गर्न भनिएको छ।
प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार, यी स्वास्थ्य संस्थाहरूलाई अब कानुनी प्रक्रिया पूरा गरी मात्र पुनः सञ्चालन गर्न अनुमति दिइनेछ। सेवा नवीकरण, आवश्यक स्वीकृति र मापदण्डको पालना नगरी सञ्चालन भइरहेका यस्ता संस्थाहरूले जनस्वास्थ्यमा गम्भीर खतरा पुर्याइरहेको भन्दै सरकारले निगरानी कडा बनाएको हो।
यसअघि पनि मुख्यमन्त्री सिंहले मलंगवा, नवलपुर, लालबन्दी र हरिवनका केही अस्पतालहरूको निरीक्षण गरी मापदण्डविपरीतको सेवा बन्द गराएका थिए। अब स्वास्थ्य सेवा क्षेत्रमा पारदर्शिता र मापदण्डको पूर्ण पालना सुनिश्चित गर्ने अभियानलाई सरकारद्वारा तीव्र बनाइएको छ।


प्रतिक्रिया