
श्रेणी : प्रदेश
काठमाडौं,१७ वैशाख । लामो समयदेखि आन्दोलित रहेका शिक्षकहरूका माग सम्बोधनका लागि सरकारले संवादलाई प्राथमिकतामा राखेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार सरकार र शिक्षक महासंघबीचको पछिल्लो वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छ।
गएको राति प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ८ बजे सुरु भएको वार्ता साढे १० बजेसम्म चलेको थियो। वार्तामा शिक्षामन्त्री पन्तसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकको सहभागिता थियो। शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको प्रतिनिधिमण्डलले वार्ता प्रतिनिधित्व गर्यो।
दुवै पक्षबीचको संवाद आज पुनः जारी रहनेछ। वार्तामा शिक्षक महासंघले अघि सारेका पुराना मागहरूबारे गम्भीर छलफल भइरहेको छ भने सरकार पनि छिटो टुंगोमा पुर्याउने प्रयासमा देखिएको छ।
शिक्षक संगठनहरूले चैत २० गतेदेखि आफ्ना मागहरूका लागि आन्दोलन थालेका थिए। आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरूमा पठनपाठन प्रभावित हुँदै आएको छ। शैक्षिक सत्र २०८२ को सुरुवातमै कक्षा अवरुद्ध हुँदा विद्यार्थी र अभिभावक चिन्तामा छन्।
यद्यपि, वार्तामा देखिएको सकारात्मक प्रगति र दुवै पक्षको सहकार्यले अब समाधानको आशा बढेको छ। दुबै पक्षले सहमति खोज्न र वार्तालाई सफल बनाउन प्रतिबद्धता दोहोर्याएका छन्।

प्रतिक्रिया