
श्रेणी : प्रदेश
जनकपुर,२८ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई बिचौलिया र तस्करहरूले नियन्त्रणमा लिएको गम्भीर आरोप लगाएका छन्। जनकपुरधाममा आयोजित समाजवादी महिला संघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
यादवले जनताको होइन, तस्कर र बिचौलियाको हितका लागि काम गरिरहेको सरकारसँग विकास र सुशासनको अपेक्षा गर्नु नै मूर्खता हुने बताए। बजेट निर्माणमा समेत बिचौलियाहरूको पहुँच देखिनु आफैंमा सरकारको चरित्रको प्रमाण भएको उनको भनाइ थियो।
“अमेरिकी राष्ट्रपतिले समेत नेपाली नेताहरूलाई संसदमै ‘फ्रड लिडर’ भनेर सम्बोधन गरिसकेको अवस्था छ,” यादवले भने, “यस्तो सरकारले न देशभित्र न त अन्तर्राष्ट्रिय समुदायमा नै विश्वास कायम राख्न सकेको छ।”
वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूले देशको अर्थतन्त्र धानिरहेका बेला पनि सरकारले उनीहरूका लागि स्पष्ट नीति नल्याउनु लज्जास्पद भएको उनले टिप्पणी गरे। संविधान संशोधनको बहानामा कांग्रेस र कम्युनिस्ट दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरिरहेको दाबी गर्दै यादवले परिवर्तन विरोधी शक्तिहरू सडक, सदन र गोप्य षडयन्त्रमार्फत प्रतिगमनको बाटोमा लागेको बताए।
“संविधान संशोधन संघीयता संस्थागत गर्न होइन, उल्टै समाप्त पार्ने तयारी हो,” उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन परिवर्तनकारी शक्तिहरू सतर्क बन्नुपर्छ।”
महिलाको अधिकारबारे पनि उनले जोड दिए। जबसम्म महिलालाई शिक्षा, सम्पत्ति, अवसर र न्यायमा बराबरी पहुँच सुनिश्चित गरिंदैन, तबसम्म मुलुकले समृद्धिको लक्ष्य हासिल गर्न नसक्ने धारणा उनले राखे।


प्रतिक्रिया