वीरगन्ज :

सरकारी विद्यालयको भवन निजीलाई भाडामा लगाएको भन्दै ९ जनाविरुद्ध मुद्दा दायर

श्रेणी : अपराध

3 hours
Pradeep Sah
1.9kViews
1860 Shares

काठमाडौं,०७ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक विद्यालयको सार्वजनिक सम्पत्ति कानुन विपरीत निजी प्रयोजनमा लगाएको आरोपमा कास्कीको एक विद्यालयका तत्कालीन पदाधिकारीसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कास्कीको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा–१ को करिब ४ रोपनी जग्गामा निर्मित भवनसहितका सार्वजनिक सम्पत्ति निजी बोर्डिङ स्कूललाई भाडामा लगाई दुरुपयोग गरेको ठहर गरेको हो ।

अख्तियारको अनुसन्धानबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, पोखरा महानगरपालिका– १ का वडा अध्यक्ष शाहारा प्रधान लगायत विद्यालयका अन्य सदस्यहरू र निजी बोर्डिङ स्कूलका सञ्चालक राजु केसी तथा प्राचार्य सुनिता कुँवर केसी को मिलेमतो देखिएको छ। उनीहरूले विद्यालयको जग्गा र भवन १२ वर्षसम्म निजी बोर्डिङ स्कूललाई भाडामा दिएको पाइएको अख्तियारको दाबी छ ।

पोखरा महानगरपालिकाले करार रद्द गर्न र सम्पत्ति फिर्ता गराउन चेतावनी दिँदा पनि अटेर गरिएको अख्तियारले जनाएको छ । उनीहरूले यसरी सरकारी सम्पत्ति दुरुपयोग गरी १५ लाख २९ हजार ४०८ रुपैयाँ बराबरको बिगो कायम गरेको अख्तियारको ठहर छ ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, यी नौ जना अभियुक्तविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार १५ लाख २९ हजार ४०८ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजाय माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *