
श्रेणी : अर्थ
काठमाडाैं, ०९ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी बैंक, वित्तीय, तथा गैर-वित्तीय संस्थाका प्रमुखहरूलाई रणनीतिक योजना बनाएर कार्यसम्पादन सुधार्न निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा मन्त्री पौडेलले सरकारी संस्थाहरूको प्रभावकारिता बढाउन आवश्यक नीति र कानुन निर्माणमा मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता जनाए। साथै, उनले समस्या समाधानका लागि सार्थक पहल लिन र संस्थाको विश्वासनीयता मजबुत बनाउँदै काम गर्न आग्रह गरे।
अर्थमन्त्री पौडेलले कर्जाको गुणस्तर सुधार्ने र प्रतिफलमुखी क्षेत्रमा लगानी विस्तार गर्न जोड दिँदै, खराब कर्जा घटाउने उपायमा विशेष ध्यान दिन आग्रह गरे।
बैठकमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले कर्जा असुलीमा देखिएको समस्याबारे अवगत गराउँदै पूँजी वृद्धि र लगानी विस्तारमा केन्द्रित हुने योजना प्रस्तुत गरेका थिए।
बैठकमा अर्थ सचिव, राजस्व सचिव, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष, ग्रामीण विकास लघु वित्त संस्था, र निक्षेप तथा कर्जा सुरक्षण कोषका उच्च पदाधिकारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया