बीरगन्ज,२३ चैत । सरकारी कार्यालयहरूमा बिचौलियामाथि भइरहेको धरपकडपछि पर्साका लेखापढी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले सोमबारदेखि जिल्लाभर अनिश्चितकालीन हडताल सुरु गरेका छन्।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्सा को आह्वानमा मालपोत, नापी, भूमिसुधार, अदालत र जिल्ला प्रशासन कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले सेवा ठप्प पारेका हुन्।
एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादव का अनुसार हालै सरकारी कार्यालयहरूमा बिचौलियाको आरोपमा गरिएको पक्राउ र धरपकडप्रति विरोध जनाउँदै आन्दोलन सुरु गरिएको हो।
पर्सामा पोखरिया मालपोत कार्यालयबाट तीन जनालाई पक्राउ गरेपछि व्यवसायीहरू थप आक्रोशित बनेका छन्। उनीहरूले कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनमा रहेका भु–सेवा केन्द्र र लेखापढी व्यवसायीमाथि अन्यायपूर्ण कारबाही गरिएको आरोप लगाएका छन्।
व्यवसायीहरूले पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दै सरकार र प्रहरी प्रशासनको कदमप्रति आपत्ति जनाएका छन्।
पर्सा जिल्लामा १ सय २१ भु–सेवा केन्द्र र ४ सयभन्दा बढी लेखापढी व्यवसायी रहेको एसोसिएसनले जनाएको छ।

प्रतिक्रिया