
श्रेणी : प्रदेश
काठमाडौं,३१ वैशाख । नेपाल औषधि लिमिटेडले उत्पादन गरेका सुपथ मूल्यका औषधिहरू सरकारी अस्पतालमा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पहल सुरु गरेका छन्।
लिमिटेडले उत्पादन गरेको सिटामोल, जीवनजललगायतका अत्यावश्यक औषधिहरू बिक्री नहुँदा गोदाममै थन्किएको गुनासोपछि मन्त्री पौडेलले वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल औषधि लिमिटेड र सम्बन्धित निकायका अधिकारीहरूसँग छलफल गरेका हुन्।
“सस्तो मूल्यमा आम नागरिकलाई औषधि उपलब्ध गराउने लक्ष्यसहित उत्पादित औषधिहरू सरकारी अस्पतालसम्म पुर्याउन सरकारले आवश्यक पहल गर्नुपर्छ,” मन्त्री पौडेलले बैठकमा बताएका थिए, “गुणस्तर प्रमाणीकरणका लागि पनि हामीले सहयोग गरिरहेका छौं, अब वितरणमा सहजीकरण गर्न तयार छौं।”
मन्त्रालयमा सम्पन्न बैठकले नेपाल औषधि लिमिटेडका उत्पादनहरू संघ, प्रदेश र स्थानीय तहका सरकारी स्वास्थ्य संस्थामा पुर्याउन सहजीकरण गर्ने जिम्मेवारीसहित समिति गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित उक्त समितिमा स्वास्थ्य, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै नेपाल औषधि लिमिटेडका प्रतिनिधि समावेश छन्।
बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपाने र महाप्रबन्धक कैलाशकुमार पनेरु समेत सहभागी थिए।
मन्त्री पौडेलले ९८ प्रकारका अनिवार्य औषधिहरू सरकारी अस्पतालहरूमा सहज रूपमा उपलब्ध गराउने रणनीति अनुरूप नेपाल औषधि लिमिटेडबाट प्रत्यक्ष खरिद गर्ने विकल्पमा समेत गृहकार्य अगाडि बढाउने बताएका छन्। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार समितिको सुझावका आधारमा आवश्यक निर्णय लिइनेछ।


प्रतिक्रिया