
श्रेणी : राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आइतबार भएको भेटमा समर्थनसहित सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री दाहालले दुवै अध्यक्षसँग सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
प्रधानमन्त्री दाहालले भेटमा दुई राजनीतिक दल सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताए । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको र पुनः छलफल हुने बताए ।
यही पुस १० गते एक सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया