
श्रेणी : राजनीति
काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउने नेताहरुले बताएका छन् ।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा आज सकिँदै छ । बैठकले त्यसअघि को प्रधानमन्त्री बन्ने विषयको टुंगो लगाउने छ । गठबन्धनको बैठकअघि नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छुट्टाछुट्टै छलफल भएको थियो ।
शनिबारको बैठकले गठबन्धनको नेतृत्वमा सरकार बनाउने र कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको थियो । तर सरकारको नेतृत्व आलोपालो गर्ने भनिएपनि कसले पहिला नेतृत्व लिने भन्ने विषयको टुंगो लागेको छैन ।
प्रधानमन्त्री देउवालाई पहिलो कार्यकालको प्रधानमन्त्री बन्न पार्टीका नेताहरुले दबाब दिँदै आइरहेका छन् भने माओवादी अध्यक्ष प्रचण्ड आफू पहिलो कार्यकालका लागि प्रधानमन्त्री बन्नुपर्ने अडानमा छन् ।


प्रतिक्रिया