वीरगन्ज :

सरकारको गलत नीतिको कारण भारतीय पर्यटक खुलेर खर्च गर्न सकेनन्, पर्यटन क्षेत्र प्रभावित

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.5kViews
1210 Shares

वीरगंज (पर्सा), ३० चैत । स्थलमार्ग भइ नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले भारु २५ हजार मात्रै ल्याउन पाउने नियमले सीमावर्ती जिल्लाका पर्यटन क्षेत्र प्रभावित भएको छ । बारा, पर्सा जिल्लामा भारतीय पर्यटक लक्षित क्यासिनोसहितका सानाठूला दुई दर्जन होटल सञ्चालनमा छन् । तर भारतीय पर्यटकले साथमा भारु २५ हजारभन्दा धेरै नगद बोक्न नपाइने नेपाल राष्ट्रबैंकको नियम छ । जसका कारण पर्यटकले खुलेर खर्च गर्न नपाएको व्यवसायीको गुनासो छ । नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले सरकारको गलत नीतिले भारतीय पर्यटकले खुलेर खर्च गर्ने वातावरण नबनेको गुनासो गरे ।

“हामी नेपालमा पर्यटक भित्र्याउने भनिरहेका छौँ । तर भारतीय पर्यटकलाई भारु २५ हजारभन्दा धेरै रकम बोक्न नपाइने नियमले पयर्टन क्षेत्रको विकासमा अवरोध पुगेको छ”, उनले भने, “सरकारले तत्काल यो नियम पुनःविचार गनुपर्र्छ ।” वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सुबोधकुमार गुप्ताले यो प्रावधान खुकुलो बनाउनुपर्ने बताए । “पक्कै भारु २५ हजार मात्रै ल्याउन पाउने नियमले केही जटिलता छ ।” उनले भने, “पैसा ल्याउन पाउने सीमा बढाएर अन्तरदेशीय भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न आवश्यक छ ।” उनले बारा र पर्सामा औद्योगिक, धार्मिक र शैक्षिक पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । “बारा/पर्सा जिल्लामा विदेशी उत्पादन कम्पनीका सप्लायर्सको बाक्लो उपस्थिति छ । त्यसलाई हामीले औद्योगिक पर्यटनका रुपमा विकास गर्नुपर्छ”, उनले भने, “हामीले यहाँ शैक्षिक र धार्मिक पर्यटनको समेत विकास गर्नुपर्छ ।”

अध्यागमन विभागका अनुसार सन् २०२३ मा नेपालमा हवाईमार्गबाट १० लाख १४ हजार आठ सय ८६ पर्यटक नेपाल आएका थिए । घुम्न आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । भारतबाट तीन लाख १९ हजार नौ सय ३६ जना आएका थिए । सन् २०२४ को मार्च महिनामा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल भित्रिएका छन् । ती मध्ये भारतीय पर्यटकको सङ्ख्या ३० हजार छ सय ९८ रहेको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकको सङ्ख्या ठूलो भएपनि तथ्याङ्क राख्ने गरिएको छैन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछाने बिहीबार वीरगंजमा आयोजित एक कार्यक्रममा पर्यटकलाई ठाउँठाउँमा चेकिङका नाममा दुव्र्यवहार नगर्न निर्देशन दिएका थिए ।

“पर्यटकलाई एक ठाउँमा सुरक्षित ढङ्गले जाँच गर्नुस्, त्यसपछि पर्यटकलाई निर्वाधरुपमा आफ्नो क्रियाकलाप गर्ने वातावरण सिर्जना गरिदिनुस्”, उनले भने, “पर्यटकलाई गल्ली पिच्छे, मोडपिच्छे र होटल पिच्छे जाँच गरेर दुःख नदिनुस, त्यसो गर्नु भनेको दुव्र्यवहार गर्नु हो ।” गृहमन्त्री लामिछानेले भारतीय पर्यटकले भारु २५ हजार ल्याउन पाउने विषयमा सरकारले कूटनीतिक ढङ्गबाट आवश्यक समन्वय गर्ने बताए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *