
श्रेणी : अन्तर्राष्ट्रिय
बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र रौतहटका किसानहरूलाई धान रोपाइँमा गम्भीर समस्या परेको छ। नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका अनुसार गण्डक नहरमा हाल औसतमा ५५० क्युसेक मात्र पानी आइरहेको छ, जबकि सम्झौताले ८५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
कार्यालयका प्रमुख मनोजकुमार पटेलले असार १३ गतेदेखि नै औसतभन्दा कम पानी आइरहेको र असार १९ देखि २३ गतेसम्म मात्र सम्झौताअनुरूपको पानी आएको बताएका छन्। सूचना अधिकारी इञ्जिनियर सुरेश साहले भारतीय दोन शाखा नहर प्रमुख महेन्द्र चौधरीलाई टेलिफोनमार्फत औपचारिक रूपमा जानकारी गराएर सम्झौताको पूर्ण कार्यान्वयन गर्न आग्रह गरिएको बताए।
हाल नहरको ८ नम्बर ब्लक अर्थात् बाराको पसाहा खोला क्षेत्रसम्म मात्र पानी पुग्न सकेको छ। सिँचाइ कार्यालयको प्राविधिक टोलीले जगरनाथपुरदेखि रौतहटको बागमती खोला क्षेत्रसम्म निरीक्षण गरी पानी प्रवाहका लागि प्रयास गरिरहेको जानकारी दिइएको छ।
गण्डक नहर प्रणालीबाट पर्सा, बारा र रौतहटका ३७ हजार ४ सय हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य राखिएको भए पनि हरेक वर्ष भारतले कुनै न कुनै बहानामा सम्झौताअनुसार पानी नदिने गरेको किसानहरूको गुनासो छ। किसान हकहित संघर्ष समिति, पर्साका सचिव पृथ्वी साह कानुका अनुसार यसपालि मधेस प्रदेशमै वर्षा नभएको अवस्थामा गण्डक नहरमै पानी नहुँदा किसानहरू थप समस्यामा परेका छन्। यसले धान रोपाइँमा ढिलाइ भई उत्पादनमा समेत असर पर्ने चिन्ता बढेको छ।


प्रतिक्रिया