
श्रेणी : प्रदेश
काठमाडौं, १८ चैत्र । समाजवादी मोर्चाको बैठक तीन महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको बैठकले १५ चैतमा भएका हिंसात्मक घटनाका दोषीहरूमाथि कानुनी कारबाहीको माग गर्दै उनीहरूबाटै क्षतिपूर्ति भराउन सरकारलाई दबाब दिने निर्णय गरेको छ। साथै, गणतन्त्रवादी शक्तिहरूसँग अन्तरक्रिया गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा १५ चैतको घटनाबारे विस्तृत समीक्षा गरिएको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए। ‘यो घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ठूलो रूपमा हेरिएको छ। दरबारिया र प्रतिगामी तत्वहरूले कोटेश्वरमा गैरजिम्मेवार, हिंसात्मक गतिविधि गरे,’ उनले भने।
गणतन्त्रवादी सभामा जनताको उत्साहजनक उपस्थिति रहेको र व्यवस्थापन सानदार भएको बैठकको निष्कर्ष रहेको नेता विश्वकर्माले बताए।
विश्वकर्माका अनुसार समाजवादी मोर्चाको प्रदर्शनले गणतन्त्रको रक्षा गर्न सशक्त भूमिका खेलेको छ। ‘प्रतिगामी तत्वहरूको गतिविधि अशान्ति मच्चाउने र हिंसात्मक रहेको देखियो। यसको प्रतिवादमा हाम्रो विरोधसभाले महत्वपूर्ण भूमिका निर्वाह गर्यो,’ उनले थपे।
मोर्चाले राजावादीहरूको हिंसात्मक गतिविधि योजनाबद्ध भएको र विदेशी तत्वहरूको संलग्नता रहेको ठहर गरेको छ। ‘नेपालमा गणतन्त्र स्थापनापछि विदेशी प्रतिक्रियावादी र सामन्ती तत्वहरू असन्तुष्ट थिए। अहिले पनि उनीहरू सत्तामा फर्कने प्रयास गरिरहेका छन्,’ उनले भने।
समाजवादी मोर्चाले सरकारलाई घटनाको गम्भीर मूल्यांकन गर्न, आवश्यक संयन्त्र परिचालन गर्न र दोषीहरूलाई कारबाही गर्दै उनीहरूबाटै क्षतिपूर्ति भराउने माग गर्ने निर्णय गरेको छ। ‘भविष्यमा यस्ता घटनाहरू नदोहरिउन् भनेर कडा कदम चाल्नुपर्ने देखिन्छ,’ विश्वकर्माले बताए।
साथै, मोर्चाले गणतन्त्रवादी शक्तिहरूसँग अन्तरक्रिया गर्ने निर्णय गर्दै यसको मिति सचिवालयले निर्धारण गर्ने जनाएको छ। साथै, क्रान्तिका उपलब्धि रक्षा गर्न युवाहरूलाई संगठित रूपमा परिचालन गर्ने निर्णय पनि बैठकमा गरिएको छ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव लगायत समाजवादी मोर्चाका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया