वीरगन्ज :

समयमै वर्षा नहुँदा बारामा ७५ प्रतिशत मात्र रोपाइँ

श्रेणी : कृषि

1 week
Pradeep Sah
2.4kViews
1281 Shares

बीरगन्ज,०३ साउन । बारामा यस वर्ष वर्षा ढिलाइ भएकाले साउन दोस्रोसम्म पनि केवल ७५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। प्रत्येक वर्षको यो समयमा ८५ देखि ९० प्रतिशतसम्म रोपाइँ भइसक्ने बाराका किसानहरू बताउँछन्। तर वर्षा अभावका कारण यस वर्ष धान उत्पादन प्रभावित हुने अनुमान गरिएको छ।

कृषि ज्ञान केन्द्र, कलैयाका सूचना अधिकारी गणेश महराका अनुसार, जिल्लामा कुल ४६ हजार २० हेक्टरमा अगहनी धान खेती हुने गरेकामा अहिले सम्म ३४ हजार ५१५ हेक्टरमा मात्र रोपाइँ भएको छ।

“समयमै वर्षा नपरेका कारण धेरै किसानहरूले मोटरपम्प, दमकल र नहरको पानी प्रयोग गरी खेत सिँचाइ गरिरहेका छन्,” महराले बताए। उनले थपे, “सिंचाइ भएको खेतहरूमा समेत बाला सुक्न थालेको गुनासो किसानहरूको छ।”

कलैया उपमहानगरपालिका–१० निलकण्ठवाका किसान अनिरुद्ध प्रसाद कुशवाहा भन्छन्, “हामीले जसोतसो रोपाइँ त गर्‍यौं, तर पानी नपरेर बिउ पलाएरै सुक्न थालेको छ। अहिले खेती जोगाउन नै मुस्किल भएको छ।”

जलवायु परिवर्तनको प्रभावले गर्दा वर्षा अनिश्चित हुँदै जाँदा किसानहरू थप जोखिममा परेको कृषि विज्ञहरूको भनाइ छ। यसले धान उत्पादनमा कमी, त्यससँगै खाद्य सुरक्षामा समेत चुनौती आउने अनुमान गरिएको छ।

स्थानीय सरकार र कृषि निकायहरूले वैकल्पिक सिँचाइ उपायको विस्तार र किसानलाई सहुलियतमा सिंचाइ सामग्री उपलब्ध गराउने विषयमा चाँडो ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *