
श्रेणी : BANNER
काठमाडौं,२२ साउन । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी, रास्वपालगायत सबै पार्टीबाट मन्त्री पदसहितको प्रस्ताव आउने दाबी गरेका छन्। तर, उनी कुनै पनि दलमा नजाने अडानमा अडिग रहेको स्पष्ट पारेका छन्।
बुधबार नागरिक दैनिकको कार्यक्रम नागरिक फ्रन्टलाइन मा प्रधान सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा बोल्दै सिंहले आफूमाथि विभिन्न दलहरूले निरन्तर प्रस्ताव गर्दै आएको बताएका हुन्।
“केपी ओलीले मलाई ‘तपाईं पार्टीमा आउनुस्, मन्त्री ग्यारेन्टी गर्छु’ भन्नुहुन्छ,” सिंहले दाबी गरे, “कांग्रेसबाट त बारम्बार अफर आउँछ। मधेसी दल, माओवादी, रास्वपा सबैबाट प्रस्ताव आउने गर्छ। तर म कुनै दलमा जान्नँ।”
पूर्व कांग्रेस नेता रहेका सिंहले पछिल्लो निर्वाचनपछि स्वतन्त्र बनेपछि आफूलाई राजनीतिक रूपमा ‘सन्चो’ महसुस भएको बताए। दलमा हुँदा स्वतन्त्र धारणा राख्न सकिँदैन भन्ने अनुभव उनले सुनाए। दल–नेता प्रति उनी प्रायः खुलेर आलोचनात्मक धारणा राख्ने गरेका छन्।
सिंहको यो भनाइले हालको सत्ता समीकरण र स्वतन्त्र सांसदहरूको भूमिकाबारे पनि चासो बढाएको छ।


प्रतिक्रिया