वीरगन्ज :

सप्तरी भन्सारमा मिलेमतोको शंका: भन्सार प्रमुखको ट्रलीमा मोटरसाइकल लुकाएर लैजाँदै गरेको भिडियो भाइरल

श्रेणी : अपराध

1 month
Pradeep Sah
2.1kViews
1649 Shares

राजविराज,२० जेठ । भन्सार लिलामीमा मिलेमतोको आरोप लागिरहँदा सप्तरीको राजविराज भन्सार कार्यालयका प्रमुखकै संलग्नता देखिने एक भिडियो सार्वजनिक भएको छ। भन्सार प्रमुख सत्यनारायण सिंहको प्रयोगमा रहेको बा २ झ १३४३ नम्बरको गाडीको ट्रलीमा नम्बर नभएको ‘हिरो ग्ल्यामर’ मोटरसाइकल लुकाएर लैजाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो।

भिडियोको पहिलो भागमा भन्सार परिसरमै उक्त ट्रलीमा मोटरसाइकल र अन्य सामानहरू लोड गरिँदै गरेको देखिन्छ भने दोस्रो भागमा ती सामान त्रिपालले छोपिएको अवस्थामा गाडी राजविराज हुँदै पश्चिमतर्फ गइरहेको देखिन्छ। स्रोतका अनुसार, शुक्रबार दिउँसो ३ बजेतिर सो गाडी भन्सार प्रमुख सिंहलाई लिएर उनीको घर धनुषातर्फ गएको पुष्टि भएको छ।

भन्सार प्रमुख सिंहले भने आफू ती मोटरसाइकल मर्मतका लागि बर्दिबास लगिरहेको र अनाहकमा भिडियो खिचेर भाइरल बनाइएको दाबी गरे। तर, उनले न त ग्यारेजको नाम दिन सके, न त मोटरसाइकलको नम्बर स्मरण गर्न सके। त्यसैगरी भन्सारमा त्यस्तो मोटरसाइकल रहेको हो या होइन भन्ने प्रश्नमा पनि उनले प्रतिक्रिया दिन मानेनन्।

यसबीच, भन्सार कार्यालयले जेठ ९ गते दोस्रो चरणको लिलामीमा २० वटा मोटरसाइकलमध्ये १३ वटा एउटै व्यक्तिलाई — विराटनगर महानगरपालिका–१५ निवासी अभिषेक चौधरी — न्यूनतम मूल्यभन्दा एक रुपैयाँ मात्र बढीमा दिइएको सार्वजनिक तथ्यले मिलेमतोको शंका थप बलियो बनाएको छ। पहिलो चरणमा पनि भन्सारले ५४ वटा मोटरसाइकल, ५ वटा ट्याक्टर, ६ वटा अटो र १२८ वटा स्क्र्याप सवारी मिलेमतोमा लिलाम गरिएको स्रोतको दाबी छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले घटनाबारे प्रारम्भिक बुझाइ भइरहेको जानकारी दिए। “भिडियो हामीले पनि देख्यौं, सोध्दा भन्सार प्रमुखले मर्मतका लागि लैजाने भनेका छन्,” दाहालले बताए, “तर अब थप छानबिन भइरहेका छन्, गल्ती प्रमाणित भए कारबाही अवश्य हुन्छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *