
श्रेणी : मधेस
जनकपुर,२३ असार । अनुमति नलिई माथिल्लो कक्षा सञ्चालन गर्दै आएका सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाका १० वटा निजी विद्यालयको कक्षा बन्द गराइएको छ।
शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले उच्च अदालत जनकपुर राजविराज इजलासको आदेशअनुसार अनुमति प्राप्त भन्दा माथिल्लो कक्षा सञ्चालन गर्दै आएका विद्यालयहरूमा वैशाख १९ को आदेश कार्यान्वयन गर्दै कारबाही गरेको हो। इकाई प्रमुख शशि यादवले अनुमति प्राप्त कक्षा बाहेकका थप कक्षाहरू सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो।
विद्यालय बन्द गरिएसँगै निजी विद्यालय सञ्चालकहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले वर्षौंदेखि मापदण्ड पूरा गरेर पनि अनुमति नपाउँदा पठनपाठन नै बन्द गर्नुपरेको भन्दै गुनासो गरेका छन्। शनिबार हनुमाननगर कङ्कालिनी नगरपालिकामा पत्रकार सम्मेलन गर्दै विद्यालय सञ्चालकहरूले शिक्षा ऐनअनुसार मापदण्ड पूरा गरेका विद्यालयहरूलाई माथिल्लो कक्षा सञ्चालनको अनुमति दिन माग गरेका हुन्।
वैष्णोदेवी बोर्डिङ स्कुलका सञ्चालक श्याम मण्डलले १४ वर्षअघि विद्यालय स्थापना गर्दा नै माथिल्लो कक्षाको अनुमति मागेको तर अहिलेसम्म आश्वासनबाहेक केही नपाएको बताउनुभयो। यस्तै, आनन्द बोर्डिङ स्कुलका सञ्चालक आनन्दकुमार यादवले २०७० सालमा विद्यालय दर्ता गरी अनुमति माग्दै गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो।
आरपी मेमोरियल बोर्डिङ स्कुलका सञ्चालक जयप्रकाशनारायण रायले प्रत्येक वर्ष शुल्क तिरेर कक्षा अपग्रेडको लागि निवेदन दिए पनि अनुमति नदिई पठनपाठन बन्द गराउँदा विद्यालयको लगानी र हजारौं विद्यार्थीको भविष्यमा असर परेको बताउनुभयो।
यता, हनुमाननगर कङ्कालिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिनारायण साहले भने मापदण्ड पूरा गरेका विद्यालयलाई निरीक्षणपछि अनुमति दिइएको दाबी गर्नुभएको छ।


प्रतिक्रिया