वीरगन्ज :

सप्तरीमा वैदेशिक रोजगारीको नाममा ठगी: पीडितहरू ऋणको बोझमा

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.6kViews
1148 Shares

जनकपुर,२८ असार । वैदेशिक रोजगारीका लागि पठाइदिने प्रलोभनमा परी डेढ वर्षअघि ठगिएका सप्तरीका पीडितहरूले शुक्रबार जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिँदै न्यायको माग गरेका छन्। एजेन्टका रूपमा चिनिएका विष्णुपुर गाउँपालिका–२ का महादेव साहविरुद्ध ठगीको उजुरी दिन आएका उनीहरू उल्टै अपहरणको आरोप लगाउँदै साहको पक्षबाट धम्की पाएको भन्दै त्रासमा छन्।

बोदे बरसाईन नगरपालिका–२ बैरयाहीका २४ वर्षीय रवीन्द्रकुमार यादवसहित १० जनाले २५ लाख रुपैयाँ बुझाएर विदेश जाने सपना देखेका थिए। तर तीमध्ये ७ जना अझै नेपालमै छन् भने दुबई पठाइएका ३ जना भिजिट भिसामा गएर तीन महिनामै जेल परेपछि फर्किएका छन्। “धेरैले मेरो भरमा एजेन्टलाई पैसा दिएका थिए। ऋण उठाएर बुझाएका थियौं तर न विदेश गयौं, न पैसा फिर्ता पाइरहेका छौं,” रवीन्द्रले गुनासो गरे।

एजेन्ट महादेव साहसँग केही दिनअघि राजविराजमा भेट भएको र सो क्रममा साहले चार दिनभित्र रकम फिर्ता गर्ने भनेपछि घर पठाएको तर त्यसपछि उल्टै साहको परिवारले आफूहरूलाई अपहरणको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको यादवले बताए। “अब त डीएसपीले नै फोन गरेर सोधपुछका लागि बोलाउनुहुन्छ, प्रहरी गाउँमै आएर खोज्दा सबै पीडित थप त्रासमा छन्,” उनले भने।

नेगडाका जितेन्द्र सदाले पनि एजेन्टले अपहरणको बहाना बनाएर पैसा नफिर्ता गर्ने योजना बनाएको आरोप लगाए। “ब्याज तिर्न नसक्दा निन्द्रा हराएको छ, परिवार पाल्न सकस छ,” उनले दुखेसो पोखे।

कृष्णासवरण गाउँपालिका–१ घोंघदाहाकी समतोलिया देवी रामले एक वर्षअघि एजेन्टलाई २ लाख ५० हजार बुझाएकी थिइन्। “छोरा विदेश जान सकेन, ऋणको ब्याज बढ्दो छ, न पैसा फिर्ता गर्छन् न पासपोर्ट नै,” उनले भनिन्, “अहिले त झन् अपहरणको मुद्दा लगाउने धम्की दिँदै छन्।”

पीडितहरूका अनुसार बोदे बरसाईन–२ का शम्भुप्रसाद यादव, शिवशंकर सदा, सुरेश मण्डल, मो. सुलेमान, कृष्ण मण्डल, शम्भुनाथ नगरपालिका–६ का इन्दल सदा र सिरहाको भगवानपुर गाउँपालिका–३ का धर्मदेव यादवसमेत ठगीको शिकार भएका छन्। १८ लाख ४० हजार रुपैयाँ बैंकमार्फत र बाँकी ६ लाख ६० हजार नगद बुझाइएको उनीहरूको भनाइ छ।

बोदे बरसाईन–२ का वडाध्यक्ष रामप्रसाद रामले भने, “एजेन्ट साहले स्थानीयलाई झुक्याएर उठीबास हुने अवस्था बनाएका छन्। अहिले पीडकमाथि उल्टै अपहरणको मुद्दा लगाउने प्रयासले अवस्था भयावह बनेको छ। निष्पक्ष छानबिन आवश्यक छ।”

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले साहको परिवारको मौखिक उजुरीका आधारमा रवीन्द्र यादवलाई सोधपुछका लागि फोन गरिएको बताए। “अहिलेसम्म औपचारिक मुद्दा दर्ता भएको छैन, तर अनुसन्धान प्रक्रिया जारी छ,” उनले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *