वीरगन्ज :

सप्तरीमा प्रहरीको गोलीबाट स्थानीयको मृत्यु, टायर बालेर विरोध प्रदर्शन

श्रेणी : BANNER

3 days
Pradeep Sah
2.1kViews
1272 Shares

राजविराज,२१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२, कमलपुरमा प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त बनेको छ। घटनाको विरोधमा आक्रोशित स्थानीयले बुधबार बिहान जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूका अनुसार मंगलबार राति गाउँमा छापा मार्न पुगेको प्रहरी टोलीले स्थानीयमाथि ज्यादती गरेको आरोप लागेको छ। गोली लागेर ज्यान गुमाउने व्यक्ति लालु यादव रहेको पुष्टि भएको छ, जो सोही गाउँको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत थिए। उनीमाथि प्रहरीले तस्करको मिलोमतोमा गोली चलाएको स्थानीयको दाबी छ।

घटनाको विरोधमा सडकमा उत्रिएका स्थानीयले जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रकुमार यादवलाई कारबाही गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका छन्। साथै, घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने उनीहरूको माग छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिँदै भने, “तस्करी नियन्त्रणका लागि गएको टोलीमाथि झडप भएपछि आत्मरक्षाका लागि तीन राउन्ड गोली प्रहार गरिएको थियो।” उनका अनुसार गोली लालु यादवको तिघ्रामा लागेको थियो र उपचारको क्रममा उनको मृत्यु भएको हो।

प्रहरीका अनुसार घटनास्थलबाट भारत तर्फ तस्करी हुन लागेको ८० कार्टुनभन्दा बढी मदिरा बरामद गरिएको छ। तर स्थानीय भने घटनालाई तस्करीभन्दा बढी दमनको रूपमा लिइरहेका छन्।

उक्त घटनाले स्थानीयवासीहरूमा गहिरो असन्तोष पैदा गराएको छ। उनीहरूले पीडित परिवारलाई न्याय दिन, दोषी प्रहरीमाथि कारबाही गर्न तथा घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *