वीरगन्ज :

सप्तकोशीमा पानीको बहाव १ लाख ७९ हजार क्युसेक नाघ्यो

श्रेणी : प्रदेश

24 hours
Pradeep Sah
2.3kViews
1805 Shares

सुनसरी,२० साउन । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ। सोमबार राति १० बजेको मापनअनुसार कोशी ब्यारेज भएर प्रति सेकेन्ड १ लाख ७९ हजार ७४० क्युसेक पानी बगिरहेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल थापाले जानकारी दिएका छन्।

यसअघि सोमबार बिहान ६ बजे र राति ८ बजे पानीको बहाव १ लाख ७५ हजार ६८५ क्युसेक थियो। तर रातिको मापनमा बहाव अझै बढेको पुष्टि भएको हो।

कोशी ब्यारेजस्थित ५२ मूल ढोका र ४ नहर ढोकामध्ये हाल १९ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। १ लाख ५० हजार क्युसेक भन्दा बढी पानी बहन थालेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधानअनुसार हाल रातो बत्ती बालिएको छ। यो बत्तीले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गर्छ।

पूर्वी पहाडी र तराई क्षेत्रमा लगातार परेको भारी वर्षाले सप्तकोशीको जलस्तर दिनभर उतारचढावमा रहे पनि रातिसम्म आइपुग्दा खताकै संकेत देखा परेको हो।

यसअघि २०६५ सालको भदौ २ गते, सप्तकोशीमा १ लाख ६८ हजार क्युसेक पानी बहँदा पूर्वी तटबन्ध भत्किएको स्मरणीय घटना भएको थियो। त्यस घटनाले दर्जनौं गाउँ डुबानमा पारेको र हजारौं परिवार विस्थापित भएका थिए।

यसपटकको बहाव अझ उच्च भएकाले प्रशासनले नदी आसपासका बासिन्दालाई सजग रहन र आवश्यक परे सुरक्षित स्थानमा सर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *