
श्रेणी : BANNER
वीरगंज, ३१ चैत – पर्सामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू वीरगंजमा सद्भाव कायम गर्न एकमत भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्सामा जारी सर्वदलीय बैठकमा बोल्दै नेताहरूले घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने तथा सद्भाव कायम राख्नुपर्ने विषयमा सहमति जनाएका छन्।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अगुवाइमा बसेको बैठकमा विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरूले आ-आफ्नो धारणा राख्दै सद्भाव कायम गर्न आफूहरू प्रतिबद्ध रहेको कुरामा जोड दिएका थिए।
जारी बैठकमा हिन्दूवादी र मुस्लिमवादी अगुवाहरूसँग छुट्टाछुट्टै छलफल गरिएको छ। दुवै पक्षको धारणा संकलन गरेपछि राजनीतिक दलका प्रतिनिधिहरूको रोहवरमा ठोस निर्णय लिइने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
हालसमेत छलफल जारी रहेको र सकारात्मक दिशामा अगाडि बढिरहेको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन्।
यसैबीच, पर्साका क्रियाशील प्रमुख राजनीतिक दलहरूले संयुक्त रूपमा एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्। संयुक्त प्रेस नोटमार्फत दोषीलाई कारबाहीको माग, सद्भाव कायम गर्नुपर्ने र घाइतेहरूको उपचार व्यवस्था गर्नुपर्ने विषयमा सबै पक्षलाई अपिल गरिएको छ। राजनीतिक दलका प्रतिनिधिहरूले आफ्नो पार्टी सद्भाव र भाइचारा कायम राख्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।


प्रतिक्रिया