
श्रेणी : BANNER
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आफूले हसिँया हथौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै काँग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताए ।
मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्रीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आम मतदातालाई आग्रह गरे । सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उनको भनाई थियो ।
प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुबीच अविश्वासको वातावरण नरहेको भन्दै खुसी समेत व्यक्त गरे । उनले भने, ‘अब हसिँया हथौडा, को रुख भन्ने नै छैन । त्यसकारण कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने । हसिँया हथौडा भएको ठाउँमा हसिया हथौडालाई नै भोट हाल्ने । रुख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने । यति भए पुगी हाल्यो नि । किन चाहियो अरु कुरा ? सबै दाजुभाइ दिदीबहिनीहरुले यो गठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर यो देशलाई अझ स्थायी रुपमा अगाडि बढाउनका लागि स्थायी शान्ति, स्थायी प्रजातन्त्र, स्थायी गणतन्त्रलाई अगाडि बढाउनका सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।’
प्रधानमन्त्री देउवाले सत्तारुढ दलका नेताहरुले सरकारलाई सहयोग गरेको भन्दै धन्यवाद समेत दिए । उनले संसद दुई पटक भंग गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेको तर आफूहरुले त्यसलाई जोगाएको बताए । प्रधानमन्त्री देउवाले मुलुक विजुली बेचेर सम्पन्न बनाउने गरी भारतसँग विजुली खरिद सम्झौता गर्न आफू नेतृत्वको गठबन्धन सरकार सफल भएको दावी समेत गरे ।
उनले भने,‘ओलीजीले २ पटक भंग गरिदिनु भयो पार्लियामेन्ट । जनताले चुनेको संसद मनपरी ढंगले भंग गर्न थालेको हुनाले नै संविधान बनाउँदा खेरी कुनै पनि हालतमा भंग गर्न नपाउने संविधानमै व्यवस्था गरेका छौं । त्यसकारण यो यो अवस्थामा बाहेक संविधान भंग गर्न नै नपाईने व्यवस्था थियो । राति २ बजे राष्ट्रपतिलाई उठाएर भंग गरिदिए हेर्नुस् न संसद । बिहानै गरे हुन्थ्यो । बिहान ६÷७ बजेतिर गर्दा पनि हुन्थ्यो । त्यस्तो किसिमको एउटा लहडमा सदन भंग गर्न थालेपछि त हामीले यो संसद बचाउन आवश्यक थियो । अहिले ठिक टाईममा चुनाव हुँदैछ अब । चुनाव हुने मिति भर्खर हुँदैछ, उहाँले २ वर्ष अघि नै संसद भंग गरिदिनु भयो ।’
प्रधानमन्त्री देउवाले नेपालको संविधान राम्रो भएको उल्लेख गर्दै सोही अनुसार अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।

प्रतिक्रिया