
श्रेणी : BANNER
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेश सरकार निर्माणमा सत्ताधारी नेताहरूले बल प्रयोग गरेर संविधानको उल्लंघन गरेको बताएका छन् ।
शुक्रबार सामाजिक संजालमार्फत भट्टराईले कोशी प्रदेश नामकरण स्वीकार गर्न अस्वीकार गर्दै नामकरण ठीक नभएको र त्यसमा पनि जानीजानी केन्द्रका सत्ताधारी नेताले बल प्रयोग गरेर संविधानको ठाडो उल्लंघन गरी सरकार निर्माण गरेको आरोप लगाएका हुन् ।
उनले भनेका छन्, ‘प्रसंग १ नम्बर प्रदेशको (क्षमा गरियोस् नामाकरण ठीक भएन!) हो ! त्यहाँ जानीजानी केन्द्रका सत्ताधारी नेताहरूले बल प्रयोग गरेर प्रदेश सरकार निर्माणमा संविधानको ठाडो उल्लंघन गरेकै हुन् ! त्यसलाई सच्याएर सर्वोच्च अदालतले संविधान र राजनैतिक नैतिकताको रक्षा गर्न योगदान पुर्याएकोमा सम्मानित अदालत धन्यवादको पात्र छ।’
उनले संविधान नमिच्न सत्ताधारी नेतालाई चेतावनी समेत दिएका छन्। उनले भनेका छन्, ‘पृथ्वीनारायण शाहले ‘मेरा साना दुःखले आर्ज्याको मुलुक हैन यो..सबैलाई चेतना भया’ भने झैं हामीलाई पनि भन्न मन लाग्छ–’हाम्रा साना दुःख त्याग र वलिदानले आर्ज्याको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान हैन यो..अहिलेका सत्ताधारी नेताहरूलाई चेतना भया ! ’ तर गम्भीर कुरा के भने यो संविधानका निर्माताहरू नै आफ्नो छुद्र दलीय/गुटीय/निजी स्वार्थनिम्ति संविधान मिच्छन् र मिच्न लगाउछन् भने संविधानको रक्षा कसले गर्छ ? रक्षक नै भक्षक बनेपछि कसको के लाग्छ ? एक पटक आफ्नो सरकार नबने नबनोस्, मध्यावधि चुनाव भए होस् तर संविधान र लोकतन्त्र नमरोस् भन्न किन नसकेको ? आफू र आफ्नो दल हारेर पनि लोकतन्त्र, संविधान, देशले जितोस् भन्ने राजनेताहरूको जन्म कहिले होला ?’
बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको सहभागितालाई अवैधानिक ठहर गरेको थियो । उक्त फैसलासँग सभामुखको गौतमको हस्ताक्षरमा ४७ जनाको बहुमत देखाएर मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता उद्धव थापा पनि पदमुक्त भएका छन्।

प्रतिक्रिया