वीरगन्ज :

सञ्चार क्षेत्रको प्रवर्द्धनमा मधेस सरकार प्रतिबद्ध : मुख्यमन्त्री सिंह

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.1kViews
1925 Shares

जनकपुर,०८ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले सञ्चार क्षेत्रको विकासलाई सरकारको प्राथमिकतामा रहेको बताउँदै आवश्यक लगानी गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले सञ्चारकर्मी तथा सञ्चार संस्था सशक्त बनाउन प्रदेश सरकारले दीर्घकालीन रणनीतिसहित अघि बढ्ने उल्लेख गरे। “सञ्चार जनताको आवाज हो, यसलाई मजबुत बनाउन सरकारले नाफा–नोक्सानको गणनामा नफसेर जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ,” उनले भने।

मधेस प्रदेश सरकारअन्तर्गत गृह, सञ्चार तथा कानून मन्त्रालय र सार्वजनिक सेवा प्रसारण नेपालबीच भवन प्रयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको अवसरमा मुख्यमन्त्री सिंहले यो धारणा राखेका हुन्।

सम्झौताअनुसार, नेपाल टेलिभिजन र रेडियो नेपालले अब जनकपुरस्थित मन्त्रालयको भवनबाट औपचारिक रूपमा सेवा विस्तार गर्नेछन्। बदला स्वरूप, प्रदेश सरकारले यी दुई सरकारी सञ्चार माध्यमलाई आवश्यक भवन उपलब्ध गराउनेछ।

गृहमन्त्री राजकुमार लेखीले मधेस सरकारको तर्फबाट सम्झौतामा हस्ताक्षर गर्दै यो सहकार्यले प्रदेशको सञ्चार क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे। उनले भने, “अब प्रदेशकै भवनबाट टेलिभिजन र रेडियोको प्रसारण सुरु हुँदैछ, यो हामी सबैका लागि महत्वपूर्ण उपलब्धि हो।”

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष महेन्द्र बिष्टले सम्झौता पश्चात ‘प्रदेश डायरी’ कार्यक्रम पुनः सुरु हुने जानकारी दिए। ३३ वर्षअघि सुरु भई केही समयदेखि बन्द रहेको उक्त कार्यक्रम पुनः सञ्चालनमा आउनु सञ्चार क्षेत्रका लागि उत्साहजनक कदम भएको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *