श्रेणी : BANNER
वीरगञ्ज। पर्साको सखुवा प्रसौनी गाउँपालिकामा नेकपा (एमाले) का स्थानीय अगुवा नेता तथा कार्यकर्ताहरूबीच संगठन सुदृढीकरण र आगामी निर्वाचन रणनीतिका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा सूर्य चिन्हबाट चुनाव लडिरहेका युवा नेता रूपेश कुमार पाण्डेलाई विजयी बनाउन सामूहिक रूपमा सक्रिय हुने प्रतिबद्धता जनाएका छन्।
भेटघाटका क्रममा आउँदो शनिबार गाद्दीमाईमा आयोजना हुन लागेको क्षेत्रीय अगुवा नेता–कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई प्रभावकारी र भव्य रूपमा सफल बनाउन सबैले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो। सहभागीहरूले उक्त कार्यक्रमलाई संगठन विस्तार र चुनावी माहोल बलियो बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए।
एमाले नेता प्रदीप जयसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तहका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा उम्मेदवार पाण्डेले पार्टीभित्रको एकता सुदृढ गर्दै व्यक्तिगत मतभेदभन्दा संगठन र चुनावी अभियानलाई प्राथमिकता दिन आग्रह गरे। उनले क्षेत्रको विकास, पूर्वाधार विस्तार र नागरिक जीवनस्तर सुधारका लागि स्पष्ट योजना अघि सारेका छन् र जनताको अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहने विश्वास दिलाए।
कार्यक्रमपछि सखुवा प्रसौनी क्षेत्रमा एमालेको संगठनात्मक आधार थप मजबुत बन्दै गएको तथा आगामी निर्वाचनमा सकारात्मक परिणाम हासिल गर्ने लक्ष्यसहित कार्यकर्ताहरू उत्साहित देखिएका छन्।

प्रतिक्रिया