
श्रेणी : अपराध
बीरगन्ज,२७ चैत । पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ को वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले तोडफोड गरेको छ।
वडाध्यक्ष मोहम्मद आरिफ अन्सारीका अनुसार, अपरिचित समूहले रातको समयमा कार्यालयको ढोका फोडेर भित्र प्रवेश गरी फर्निचर तोडफोड गर्नुका साथै कागजात र फाइलहरू च्यातचुत पारेर छरपस्ट पारेका थिए। तोडफोडको अवस्था बुधबार बिहान मात्र थाहा भएको हो।
“को कसले र किन यस्तो गर्यो भन्ने अहिले खुल्न सकेको छैन,” वडाध्यक्ष अन्सारीले बताए। उनका अनुसार, कार्यालयमा भएको क्षतिको विवरण संकलन भइरहेको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
बुधबार बिहान इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी निरीक्षक प्रकाश थापाले प्रारम्भिक अनुसन्धान सुरू गरिएको जानकारी दिए।
घटनाले स्थानीय तहमा सुरक्षाको सवाल फेरि उठाएको छ भने वडा कार्यालयमा सेवा प्रवाहमा पनि असर पर्ने देखिएको छ।


प्रतिक्रिया