वीरगन्ज :

संविधान संशोधन प्रक्रिया सुरु गर्न कोइरालाको आग्रह

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.1kViews
1917 Shares

काठमाडौं,२२ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधान संशोधनको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने बताएका छन्। उनले वर्तमान सरकार गठनका बेला संविधान संशोधनका विषयमा स्पष्ट सहमति भइसकेकाले अब त्यसलाई व्यवहारमा उतार्न ढिला गर्न नहुने चेतावनी दिएका छन्।

राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै कोइरालाले संविधान कार्यान्वयनमा देखिएका जटिलता सम्बोधन गर्न संशोधन अपरिहार्य भएको उल्लेख गरे। “सरकार बनाउँदा नै यो विषयमा सहमति भएको थियो, त्यसैले अब समिति बनाएर प्रक्रिया सुरु गरिनुपर्छ। समय लागोस्, तर सुरुवात त होस्,” उनले भने।

कोइरालाले पछिल्ला दिनमा देखिएको सेयर राइडिङ नियमनको बहानामा केन्द्रले प्रदेशको अधिकारमा हस्तक्षेप गर्न खोजेकोप्रति गम्भीर आपत्ति जनाए। उनले संविधानले दिएको अधिकारलाई संघले कुण्ठित गर्न नमिल्ने भन्दै चेतावनी दिए, “प्रदेश चलाउने अधिकारमा हस्तक्षेप गरियो भने त्यो संघीयताको मर्म विपरीत हुन्छ। यस्तो अभ्यासले संविधानको आत्मा कमजोर पार्छ।”

संसदको हालको वातावरणप्रति असन्तुष्टि व्यक्त गर्दै उनले त्यसलाई समाधानमुखी बनाउनु पर्ने बताए। “संसद नीति निर्माणको थलो हो, आरोप-प्रत्यारोप गर्ने ठाउँ होइन। अहिले उत्पन्न परिस्थितिमा समाधान खोज्न राजनीतिक दलहरू एक ठाउँमा उभिनु आवश्यक छ,” उनले सुझाए।

कोइरालाले देशमा सर्वसाधारणमा गहिरो निराशा देखिएको उल्लेख गर्दै यसलाई हटाउन सरकार मात्र नभई सबै दलको सक्रियता आवश्यक रहेको बताए। “जनतामा निराशा छ, त्यसलाई हटाउन सबैले मिलेर काम गर्नुपर्छ। कांग्रेस यसमा सक्दो भूमिका खेलिरहेको छ,” उनले स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *