वीरगन्ज :

संविधान संशोधनको सन्दर्भमा मधेशकेन्द्रित दलहरूको एकता र सहकार्यको आवश्यकता

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.8kViews
1001 Shares

काठमाडौँ,१७ पुस । सत्तारूढ कांग्रेस र एमालेको संविधान संशोधनको तयारीसँगै मधेशकेन्द्रित दलहरू बीच एकता र सहकार्यको आवश्यकता बढेको छ। संविधान संशोधनका कारण अघिल्ला आन्दोलनमा प्राप्त राजनीतिक र संवैधानिक उपलब्धिहरू गुम्ने चिन्ता व्यक्त गर्दै मधेशकेन्द्रित दलहरूले छलफल सुरु गरेका छन्।

मंगलबार, मधेशी एकता समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न दलका नेता एउटै मञ्चमा जुटेका थिए। यस अवसरमा नेताहरूले संविधान संशोधनले समावेशी प्रतिनिधित्वको अधिकार खोस्ने र निर्वाचन प्रणालीमा असंतुलन ल्याउने खतरा औंल्याए।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन प्रक्रिया नश्लीय ढंगको हुने आशंका व्यक्त गरे। उनले भने, “मधेशी, आदिवासी र जनजाति शक्तिहरूलाई एकजुट गर्नुपर्ने आवश्यकता छ, ताकि हामी हाम्रो अधिकारको रक्षा गर्न सकौं।”

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मधेशकेन्द्रित दलहरूबीच लचिलो गठबन्धन र सहकार्यको प्रस्ताव राखे। “हामीले धेरै पटक एकता प्रयास गरेका छौं, तर सफल नभएका छन्। अब हामी एकता मात्र होइन, सहकार्यका लागि तयारी गरौं,” उनले भने।

जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव र लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले पनि मधेशी दलहरू बीचको एकता र सहकार्यको आवश्यकता औंल्याए। उनीहरूले संविधान संशोधनको प्रयासलाई मधेशका लागि प्रतिकूल र लोकतान्त्रिक मूल्यविरोधी भएको बताए।

जनमत पार्टीका नेता शरदसिंह यादवले संविधान संशोधनलाई मधेशका विपक्षमा हुने देखेर यसलाई रोक्न सहकार्य अनिवार्य भएको बताएका छन्।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरूले पनि मधेशकेन्द्रित दलहरूको बीच सहकार्यको महत्त्व र आवश्यकताबारे धारणा प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *